लुम्बिनी प्रदेश सरकारले राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले दाङको भालुवाङ क्षेत्रमा निर्माण गरिने प्रदेशको राजधानी गुरुयोजना स्वीकृत गरेको हो । प्रदेश पूर्वाधार प्राधिकरणले हालै प्रदेश राजधानीको गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।
त्यस्तै मन्त्रीपरिषद बैठकले सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने, २०७९ सालको लागि प्रदेशमा सार्वजनिक, पर्व एवं सट्टा विदा स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी गराउनु भयो । त्यस्तै लालमटिया स्वास्थ्य चौकी, भालुवाङ, दाङलाई ५० शैयाको अस्पतालमा स्तरोन्नती गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
त्यस्तैगरी बैठकले पाल्पा दरबार संग्रहालय विकास समितिमा विज्ञ सदस्यको रुपमा करुणा काफ्ले, चित्र बलिराम सुवाल र शान्ता सारुलाई मनोनित गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले निःशुल्क रक्तसञ्चार व्यवस्थापन कार्यविधि २०७८, प्रादेशिक अस्पताल तथा मेडिकल कलेजका विशेषज्ञ चिकित्सिक परिचालन कार्यविधि २०७८, प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा (पहिलो संशोधन) निर्देशिका, २०७८ र प्रदेश स्वास्थ्य साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ ।