बुटवल उपमहानगरपालिका वडा नं. ११ मा नेपाली काँग्रेसले पार्टीका वडा सभापति जीतबहादुर मल्ललाई वडा अध्यक्षमा अगाडि सारेको छ । नेपाली काँग्रेसले वडाका सबै टोल, बुद्धिजिवी, अग्रज तथा पार्टीका नेता र कार्यकर्ताहरुको सुझाव सल्लाहका आधारमा सर्वसम्मत रुपमा वडा अध्यक्षमा सभापति मल्ललाई सिफारिस गरिएको हो ।
बाँकी सदस्य पदमा भने उम्मेदवार टुङ्ग्याईको छैन । सत्ता गठबन्धनका दलहरुसंग चुनावी तालमेल गर्ने पार्टी नीति अनुसार तालमेलको कस्तो खाका बन्छ सोही अनुसार बाँकी सदस्यहरुको उम्मेदवारको टुंगो लगाउने वडा सभापति मल्लले बताउनु भयो । जनसंख्याका हिसावले सबैभन्दा बढी मतदाता रहेको बुटवलको वडा नं. ११ लाई अघिल्ला निर्वाचनको चुनावी मत परिणामलाई लिएर पनि महत्वका साथ हेरिन्छ । यहि वडाले मेयर उपमेयरलाई समेत जीतहारको परिणाम दिने भएकाले पनि महत्वका साथ हरिएको हो ।
अघिल्लो स्थानीय निर्वाचनमा वडा अध्यक्षमा एमालेका रामचन्द्र क्षेत्री चुनिनु भएको थियो । त्यस्तै सदस्यहरुमा पनि एमालेका उम्मेदवार विजयी भएका थिए । तर अहिले परिस्थिती बदलिएको छ । त्यतिवेला एमालेमा रहेका जीतबहादुर मल्ल दलबलसहित नेपाली काँग्रेसमा प्रवेश गरि नेपाली काँग्रेसको वडा सभापति भईसक्नु भएको छ । त्यस यता पनि एमालेमा राम्रो पकड भएका व्यक्तिहरु नेपाली काँग्रेसमा प्रवेश गरिरहेका छन् ।
यसले पनि उक्त वडालाई विशेष चासोका साथ हेरिएको छ । नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार चयन गर्दा प्रमुख प्रतिस्पर्धी दल एमालेले उम्मेदवार टुंग्याउन सकिरहेको छैन । एमालेबाट रामचन्द्र क्षेत्री, राजेन्द्र ढकाल र नकुल शाहीको वडा अध्यक्षको टिकटका लागि पार्टी भित्र चर्को प्रतिस्पर्धा छ । एमालेको नगर कमिटिले पनि तीनै जनाको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।