तिलोत्तमा ३ मा काँग्रेस उम्मेदवार पौडेलका मनछुने योजना : सुत्केरी भत्तादेखि कौशी खेतीसम्म

1.3K

तिलोत्तमा ३ मा काँग्रेस उम्मेदवार पौडेलका मनछुने योजना : सुत्केरी भत्तादेखि कौशी खेतीसम्म

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ का काँग्रेस उम्मेदवार कल्याण पौडेलले मतदाताको मनछुने योजना ल्याउनु भएको छ । सत्तागठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार पौडेलले राजनीति जनताको लागि गर्नुपर्ने भन्दै जनमैत्री योजना ल्याउनु भएको हो ।
उहाँले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा सुशासन, स्वास्थ्य, सरसफाई, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका एजेन्डा पनि समावेश गरिएको छ ।
त्यस्तै स्वास्थ्य चौकीको स्तरोन्नती, निशुल्क स्वास्थ्य जांच, ६५ वर्ष माथीका जेष्ठ नागरिकलाई ६–६ महिनामा घर घरमै स्वास्थ्य परीक्षण, निशुल्क औषधी, सुत्केरी महिलालाई ३ महिनासम्म मासिक एक हजारका दरले सुत्केरी पोषण भत्ता, घुम्ती स्वास्थ्य शिविर, विपन्न परिवारलाई पानीको धारा जडान र शौचालय निर्माणका लागि आर्थिक सहयोग गरिने छ ।
हाम्रो सगरमाथा आधारभूत विद्यालयको स्तरोन्नती, अंग्रेजी माध्यमबाट पठनपाठन, सिमानगर खेलकूद मैदानको स्तरोन्नती, खेलाडीहरुलाई प्राविधिक तालिम, खेलकूद सामाग्रीको व्यवस्था, सबै टोलका सडक विस्तार तथा कालोपत्रे, सडकमा सोलार वत्ती जडान, ६० प्रतिशत अनुदानमा विद्युतीय चुलो वितरण लगायतका कार्यक्रम प्रतिवद्धता पत्रमा समेटिएको छ ।
ढल तथा फोहोरको व्यवस्थापन, आवश्यक ठाउंमा सार्वजनिक शौचालय, सुरक्षाको दृष्टिकोणले सडक चोकमा सिसि टिभी क्यामेरा जडान, पार्किङ व्यवस्थापन सहित हाटवजार सञ्चालन, करेशा वारी र कौशी खेतीको प्रवद्र्धनका लागि निशुल्क तालिम र विउ विजनको ब्यवस्था, वेरोजगार युवाहरुलाई स्वरोजगार र रोजगारलाई पुरस्कार र प्रोत्साहन, वडा तथा टोल वासीले छनोट गरेका योजनाहरु वडा अध्यक्षका उम्मेदवार पौडेलका प्राथमिकतामा परेका छन् ।
वडा न ३ मा पौडेलको नेतृत्वमा महिला सदस्यमा चुडाकुमारी बिष्ट, दलित महिला सदस्यमा रेखा सार्की, खुला सदस्यमा बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार हुनुहुन्छ ।