जसपामा गएका यादव सहित आठ जना वागी उम्मेदवारलाई काँग्रेसको कारवाही

1.3K

जसपामा गएका यादव सहित आठ जना वागी उम्मेदवारलाई काँग्रेसको कारवाही

पार्टी छोडेर जसपामा प्रवेश गरेका मात्रिकाप्रसाद यादव सहित वागी उम्मेदवारी दिएका ८ जनालाई नेपाली काँग्रेसले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।
यादव नेपाली काँग्रेसबाट टिकट नपाएपछि पार्टी परित्याग गरि जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो । यादव अहिले जसपाबाट सिद्धार्थनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको छ ।
पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिने ८ जनालाई नेपाली काँग्रेस रुपन्देहीको जिल्ला अनुशासन समितिले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
जिल्ला सचिव हरि काफ्ले संयोजक तथा रामकिशुन विक र जमुना पौडेल सदस्य रहेको काँग्रेस रुपन्देहीको जिल्ला अनुशासन समितिले पूर्व क्षेत्रीय सभापति समेत रहेका सिद्धार्थनगर नगरपालिका ७ का यादव सहित सैनामैना २ का राजबहादुर क्षेत्री, बुटवल उपमहानगरपालिका वडा नं. १ का नरेन्द्र बस्नेत, देवदह ६ का रुक्मागत भारती, देवदह १ का चाँद मोहम्मद खाँ, देवदह १२ का उदयराज केवट र विवेक विक, सिद्धार्थनगर नगरपालिका ३ का मोहम्मद कलाम मुसलमानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार दिई पार्टीलाई असहयोग गरेको भन्दै पार्टीको विधानको परिच्छेद ९ दफा ३४ को उपदफा ४ (क) बमोजिम उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।