बुटवलको मुख्य राजमार्गको जिर्ण सडकमा बुटवलका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेयले चासो देखाउनु भएको छ । उहाँको पहलमा बेलहिया–बुटवल व्यापारिक मार्ग अन्तरगत बुटवलको राजमार्ग चौराहा–चिडियाखोला सडक खण्डमा पर्ने अस्पताललाईनमा मर्मतको काम समेत सुरु गरिएको छ ।
संघीय सरकार मातहतमा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा पर्ने यो सडक अत्यन्तै जिर्ण छ । जसका कारण लामो समयदेखि दैनिकजसो साना ठूला दुर्घटना भईरहेका छन् । त्यस्तै सवारी सञ्चालन गर्न र पैदलयात्रीलाई समेत सास्ती छ । हिलो र धुलोका कारण आसपासमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरुले समेत समस्या व्यहोर्दै आएका छन् ।
लामो समयदेखि अलपत्र रहेको उक्त सडकमा मर्मत तथा कालोपत्रेको काम सुरु गरिएको हो । कार्यभार सम्हालेको दोस्रो दिनमै नगरप्रमुख पाण्डेयको पहलमा प्रशासन सडक लगायतका सरोकारवासंग बैठक बसेर ठेक्केदारलाई तत्काल निर्माण गर्न निर्देशन गरिएको थियो ।

सोही सर्वपक्षीय बैठकबाट बाटो निर्माणमा सहमति जुटेपछि राजमार्ग चौराहादेखि ट्राफिकचोक सम्मको सडकमा शुक्रबार बिहानबाट मर्मत, कालोपत्रे तथा ढलानको काम सुरु गरिएको नगरप्रमुख पाण्डेले बताउनु भयो । पाण्डेयले भन्नुभयो–आवश्यकताका आधारमा सडक मर्मत, कालोपत्रे, ढलानको काम आरम्भ भएको छ, चौराहामा रहेको प्रथम सहिद लखन थापाको शालिक वरिपरिको भत्किएको भागमा ढलान, त्यस्तै पुष्पलाल पार्क (अस्पताललाइनमा) पनि ढलान, नाली निर्माण हुनेछ, बुटवलका सबै खाल्डाखुल्डी पुरिने छ भने भुड्कीचोकदेखि ट्राफिकचोक भूपीशेरचन चोकसम्मको सडकलाइ कालोपत्रे गर्ने प्रकृया अगाडि बढाएका छौं ।’
तत्काल बुटवलका नागरिकलाई धुलो, धुवा र फोहोरमैलाको प्रदुषणबाट टाढा राख्ने नगरपालिकाको योजना छ । व्यापारिक मार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई निर्माण गर्न निर्देशन दिइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठले बताउनु भयो । नवनिर्वाचित पाण्डेयले आफू मेयरमा निर्वाचित भएमा जसपनि पनि यो सडकलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।