गणतन्त्र दिवसको अवसरमा बुटवल उपमहानगरपालिकामा मेयर खेलराज पाण्डेयले सरसफाईकर्मी मजदुरसंग सहभोज गर्नुभएको छ । मेयरमा निर्वाचित भएको दिनदेखि नै रचनात्मक कृयाकलाप गर्दै आउनु भएका मेयर पाण्डेयले १५ औं गणतन्त्र दिवसको दिन आईतबार सरसफाईकर्मी मजदुरहरुसंग सहभोज गरेर गणतन्त्र दिवस मनाउनु भएको हो ।
गणतन्त्रको दिवसको मजदुरलाई पनि अनुभूति गराउनको लागि सहभोज गरेर खुसीयाली साटासाट गरिएको मेयर पाण्डेयले बताउनु भयो । ‘गणतन्त्र दिवसमा सफाईकर्मी मजदुरसंग सहभोज गरौं भन्ने लाग्यो र उपमेयरसंग प्रस्ताव राखें ।’ उहाँले भन्नुभयो–‘उपमेयरले पनि सहजै स्वीकार गर्नुभयो, देशमा गणतन्त्र आएको श्रमजिवी वर्गले पनि अनुभूति गर्न पाउनुपर्छ, उहांहरु हेपिएको महसुस नहोस् भनेर सहभोज गरिएको हो ।’
नगरलाई सफा र स्वच्छ राख्न सफाईकर्मी मजदुरको महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई खुशी बनाउन सके मात्रै नगर सफा र स्वच्छ हुने नगर प्रमुख पाण्डेयले बताउनु भयो । उहाँले आगामी नीति तथा कार्यक्रम र वजेटमा सफाइकर्मी मजदुरको तलब भत्ता बृद्धिलाई प्राथमिकतामा राखिने पनि जानकारी गराउनु भयो ।
त्यस्तै उपमेयर सावित्रा अर्यालले मुलुकमा गणतन्त्र ल्याउन मजदुर बर्गको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले मजदुर वर्गलाई पनि गणतन्त्रको अनुभूति हुनुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा नवनिर्वाचित मेयर आएपछि आफूहरुमा केही आशा र विश्वास बढेको सरसफाईकर्मी मजदुरहरुले बताएका छन् । यस अगाडिका मेयर शिवराज सुवेदीले आफूहरुले नमस्कार गर्दा पनि नफर्काउने गरेको भन्दै उनीहरुले नयाँ मेयर आएपछि आफूहरुले सम्मान प्राप्त गरेको बताएका थिए ।
सरसफाईकर्मी मजदुर जितबहादुर दर्जीले नयाँ मेयर आएपछि आफूहरुलाई सम्मान दिएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘अहिले विरोध गरेजस्तो होला, तर यसअघिका मेयर शिवराज सुवेदीले हामीलाई पटक्कै वास्ता गर्नुभएन, नमस्कार गर्दा पनि फर्काउनु हुन्नथ्यो ।’ दर्जीले भन्नुभयो–‘अहिलेका मेयर आएपछि हामी एकदमै खुशी छौं, अब हाम्रा समस्या गुनासा सुन्नुहुन्छ भन्ने विश्वास छ ।