सरकारले सञ्चालन गर्न लागेको पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोपका बारेमा किशाेरीहरुलाई अभिमुखिकरण गरिएकाे छ ।
सरकारले सञ्चालन गर्न लागेकाे पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे एच.पि.भि. खाेपका बारेमा जानकारी गराउन नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले शनिबार बुटवलमा कार्यक्रमकाे आयाेजना गरि विद्यालयका किशाेरीहरुलाई अभिमुखिकरण गरिएकाे संस्थाका सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयाे ।
बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीकाे सभाहलमा आयाेजना गरिएकाे अभिमुखिकरणमा प्रसुती तथा स्त्रीराेग (गाइनाेक्लाेजिक अन्काेलाेजिस्ट) विशेषज्ञ डा. नारायणबहादुर जिसी पाठेघरकाे मुखकाे क्यान्सर, एच.पि.भि. खाेप तथा जाेखिम न्यूनीकरण र प्रभावका बारेमा जानकारी गराउनु भएकाे थियाे ।

त्यस्तै जनस्वास्थ्य अधिकृत उमा थापाले पाठेघरको मुखमा हुने क्यान्सरका कारण हुने मृत्युलाई घटाउनको लागि सरकारले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय नजाने १० देखि १४ वर्षका किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको बताउँदै पाठेघरकाे मुखकाे क्यान्सर विरुद्धकाे एच.पि.भि. खाेप कार्यक्रमका बारेमा जानकारी गराउनुभयाे । उहाँले याे खाेप कार्यक्रमबाट लाभ लिन पनि आग्रह गर्नुभयाे ।
नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीका सभापति खिमबहादुर हमालले पाठेघरकाे मुखमा हुने क्यान्सरका कारण धेरै महिलाहरुले अकालमा ज्यान गुमाइरहेकाे अवस्थामा सरकारले त्यस विरुद्धकाे खाेप अभियान सञचालन गरेकाेले अभियानलाई प्रभाकारी बनाउन किशाेरीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएकाे बताउनु भयाे ।

याे खाेप अभियान यहि माघको २२ गते विश्व क्यान्सर दिवसका दिनदेखि सुरु हुदैछ । याे अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समुहका युवतीहरुलाई सहभागी गराईदै छ ।
१६ पालिका रहेको रुपन्देहीमा दुई चरणमा ५८ हजार ८९८ जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाउन लागिएको हाे । पहिलो चरणमा माघको २२ देखि २९ गतेसम्म बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका र मायाँदेवी गाउँपालिकाका ३१ हजार ९५६ जनालाई यो खोप लगाईने छ ।
त्यस्तै अभियानको दोस्रो चरणमा फागुन १ देखि ६ गतेसम्म देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतीया गाउँपालिका, रोहिणी गाउँपालिका, कोटहीमाइ गाउँपालिका, सम्मरीमाइ गाउँपालिका र मर्चवारी गाउँपालिकाका २६ हजार ९४२ जना किशोरीलाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकाे छ ।
अभियानका लागि रुपन्देहीमा ६८५ खोप केन्द्र तोकिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने गरेको छ ।
कार्यक्रममा लायन्स डिष्ट्रिक गभर्नर पुरुषाेत्तमभक्त प्रधानाङ्ग, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य मधुसुधन गैरे लगायतले भनाई राख्नुभएकाे थियाे । कार्यक्रममा २ सय बढी युवती सहभागी थिए ।