रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका संस्थापक सदस्यहरुलाई सम्मान गरिएको छ । क्लव स्थापनाको १३ औं वर्ष पुरा गरी १४ औं वर्ष प्रवेशको अवसरमा बुधबार भएको चाटर्डनाईट सेरेमोनीमा क्लवका संस्थापक सदस्यहरु क्लवका पूर्वअध्यक्षहरु नविन श्रेष्ठ, कृष्णप्रसाद शर्मा, निरन्जन पोखरेल र गोपाल घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा क्लवका संस्थापकहरुलाई अध्यक्ष देवीराम पाण्डेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । काठमाण्डौको रोटरी क्लव अफ मञ्जुश्री जावलाखेलको स्पोन्सरमा सन् २०१२ मा २५ जना संस्थापक सदस्यबाट क्लव स्थापना गरिएको थियो । क्लवमा हाल ४७ जना सदस्य रहेको क्लवका अध्यक्ष पाण्डेले जानकारी गराउनु भयो ।
उहाँका अनुसार क्लवको स्थापनापछि सिग्नेचर प्रोजेक्ट अन्तरगत ग्रामिण क्षेत्रमा रहेका तथा विद्यालयको आन्तरिक स्रोत नभएका सामुदायिक विद्यालयमा रंगरोगन गर्दै आएको छ भने अन्य सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ ।
त्यस अवसरमा बोल्दै क्लवका एसाईन एजी सुमन गोपालाचार्यले क्लव स्थापनाको १४ वर्षको अन्तरालमा डिष्ट्रिकमा बलियो क्लवको रुपमा स्थापित भएको बताउनु भयो । उहाँले भोलीका दिनमा गर्विलो र दर्विलो क्लवको रुपमा विकास हुनेमा पनि आशा र विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्लवका पूर्वअध्यक्ष तथा डिष्ट्रिकका सहसचिव कृष्णप्रसाद शर्मा, संस्थापक सदस्य तथा उपाध्यक्ष निरन्जन पोखरेल, सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, भगिनी क्लवका अध्यक्षहरु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक सरोज पन्तको सञ्चालनमा कार्यक्रम भएको थियो ।

