बुटवल–नारायणगढ सडक आजदेखि ४ घण्टा बन्द गरिँदैछ । उक्त सडक खण्डको दाउन्नेमा मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधन आवत–जावत बन्द गरिएको हो ।
सडक विस्तार आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि भने रातीको समयमा सडक बन्द गरेर सडक मर्मत तथा विस्तारको काम गरिने छ । आयोजनाले २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरेर काम गरिने जानकारी गराएको छ ।
यो समयमा उक्त सडकमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन हुनेछन् ।
बर्षायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर विस्तारको काम गर्न लागिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी गराउनु भएको छ ।