गगनकाे राजीनामा अस्वीकार : काँग्रेस १५औँ महाधिवेशनतर्फ केन्द्रित

1.3K

गगनकाे राजीनामा अस्वीकार : काँग्रेस १५औँ महाधिवेशनतर्फ केन्द्रित

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मत रूपमा अस्वीकार गर्ने निर्णय गरेको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा शुक्रबारदेखि बसेको बैठकले निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै थापाले विधानअनुसार दिएकाे राजीनामा अस्वीकार गर्ने निर्णय गरेकाे हाे ।
बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा नेतृत्व परिवर्तन उपयुक्त नहुने ठहर गर्दै राजीनामा अस्वीकार गरेको हो । बैठकले निर्वाचन पराजयका कारण व्यक्तिगतभन्दा पनि संरचनागत, प्रणालीगत तथा परिस्थितिजन्य रहेको निष्कर्ष निकालेको छ ।
बैठकमा ८८ जना केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राख्दै पार्टीभित्रको गुटबन्दी, गठबन्धन सरकारको कार्यसम्पादनप्रति जनअसन्तुष्टि, बारम्बार सरकार परिवर्तनले सिर्जिएको अस्थिरता, युवाको असन्तोष तथा डिजिटल प्रभावका कारण नयाँ शक्तिहरूलाई लाभ पुगेको जस्ता विषयलाई पराजयका प्रमुख कारणका रूपमा औंल्याएका छन् ।
उपसभापति शर्माले प्रस्तुत गरेको २७ बुँदे प्रारम्भिक समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै थप गहिरो अध्ययनका लागि जिल्ला र निर्वाचन क्षेत्रबाट समेत प्रतिवेदन माग गर्ने निर्णय गरिएको छ ।
बैठकले अब पार्टीको सम्पूर्ण ध्यान १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने जनाएको छ । महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठनात्मक पुनर्संरचना तथा भावी रणनीति तय गरिने बताइएको छ ।
यसैबीच, पार्टीले निर्वाचन परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिँदै संगठन सुदृढीकरण र पुनर्निर्माण अभियान अघि बढाउने निर्णय गरेको छ । कार्यकर्तालाई एकता, अनुशासन र उच्च मनोबल कायम राख्न आह्वान गरिएको छ ।
बैठकले निर्वाचनमा सहभागी उम्मेदवार, कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति धन्यवाद व्यक्त गर्दै विजयी उम्मेदवारलाई बधाई दिएको छ । साथै जनताको मतादेशलाई गम्भीरतापूर्वक आत्मसात गर्ने प्रतिबद्धता जनाएको छ ।
अन्तर्राष्ट्रिय विषयमा बैठकले मध्यपूर्वमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्तिको अपिल गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्दै नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झाको सुरक्षित उद्धार र स्वदेश फिर्ताका लागि पहल गर्न माग गरिएको छ ।
त्यसैगरी, जेनजी प्रदर्शन घटनाबारे गठित गौरीबहादुर कार्की जाँच आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि माग गरिएको छ ।