देउसीभैलोमा अश्लील नृत्य प्रदर्शन गर्ने ३ युवती पक्राउ

1.3K

देउसीभैलोमा अश्लील नृत्य प्रदर्शन गर्ने ३ युवती पक्राउ

देउसीभैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले तीन जना युवतीलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाका विभिन्न स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक सदाचार तथा नैतिकताविपरीतका गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ कान्छीबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ४ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका वडा नं. ७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ६ की २४ वर्षीया बिपना मगर रहेका छन् । उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

(फाेटाे एआईबाट तयार गरिएकाे हाे ।)