बुटवलमा ६ करोड लगानीमा खुल्यो ‘ड्याडिज केक’ : ६० जनालाई रोजगारी

1.3K

बुटवलमा ६ करोड लगानीमा खुल्यो ‘ड्याडिज केक’ : ६० जनालाई रोजगारी

नेपाली बेकरी उद्योगमा अन्तर्राष्ट्रियस्तरको गुणस्तर र प्रविधि भित्र्याउने लक्ष्यसहित बुटवलमा प्रिमियम बेकरी ब्रान्ड ‘ड्याडिज केक’ सञ्चालनमा आएको छ ।
ड्याडिज ग्रुपले करिब ६ करोड रुपैयाँ लगानीमा बुटवल कालिकानगर कालिकापथमा स्थापना गरेको ड्याडिज केक आइतबारदेखि सञ्चालनमा ल्याइएकाे छ । फ्रेन्च बेकरी परम्परा, आर्टिजन बेकिङ, आधुनिक प्रविधि र गुणस्तरीय कच्चा पदार्थको संयोजनमा तयार गरिएको यस ब्रान्डले नेपाली बेकरी बजारमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्य राखिएकाे सञ्चालक कमलजङ्ग कुँवरले बताए छ ।
ड्याडिज केक शुभारम्भकाे बारेमा जानकारी गराउन आइतबार आयाेजित पत्रकार सम्मेलनमा बेकरीलाई केवल उत्पादन बिक्री गर्ने व्यवसायमा सीमित नराखी स्वाद, गुणस्तर, प्रस्तुति र ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्य रहेको सञ्चालक कुँवरले बताए । फ्रेन्च बेकरी संस्कृतिबाट प्रेरित ड्याडिज केकले ब्रेड, पेस्ट्री, क्रोइसाँ, विभिन्न प्रकारका केक, चिजकेक तथा कुकीज उत्पादन गर्नेछ । यसका साथै विशेष कफी, मकटेल र अन्य पेय पदार्थसमेत उपलब्ध हुनेछन् । परम्परागत बेकिङ सीपलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादनको स्वाद र गुणस्तरमा एकरूपता कायम गर्ने कम्पनीको योजना छ । उत्पादनमा फ्रेन्च बेकरीमा प्रयोग हुने टी-४५ र टी-५५ ग्रेडका पिठो, राई फ्लोर, वास्तविक बटर, ड्राइफ्रुट्स तथा नट्सलाई प्राथमिकता दिइएको छ । कृत्रिम सामग्रीको प्रयोग घटाउँदै वास्तविक र गुणस्तरीय कच्चा पदार्थबाट उत्पादन तयार गर्ने कम्पनीको प्रतिबद्धता छ ।
आधुनिक इटालियन बेकरी मेसिन तथा उपकरणसहितको पूर्वाधार निर्माण गरिएको ड्याडिज केकमा नयाँ उत्पादन विकास, रेसिपी परीक्षण तथा स्वाद र बनावटमा सुधारका लागि छुट्टै अनुसन्धान तथा विकास (आरएन्डडी) टोलीसमेत व्यवस्था गरिएको छ ।
परियोजनाले हाल ६० जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । बेकरी तथा आतिथ्य क्षेत्रमा दक्ष नेपाली जनशक्ति उत्पादन, स्थानीय प्रतिभाको विकास र व्यावसायिक सीप अभिवृद्धिलाई पनि प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
बुटवलबाट सुरु भएको ब्रान्डलाई आगामी एक वर्षभित्र रुपन्देहीका विभिन्न स्थानमा १८ वटा मिनी आउटलेटमार्फत व्यवसायिक सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । पोखरामा नयाँ आउटलेट तथा काठमाडौंमा विस्तारका लागि समेत तयारी भइरहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा २४ घण्टा सञ्चालन हुने बेकरी सेवा सुरु गर्ने योजना पनि छ ।
ड्याडिज ग्रुपले ड्याडिज किचन, ड्याडिज एक्सप्रेस, ड्याडिज केक, ड्याडिज होटल तथा ड्याडिज हिल्सलगायतका व्यवसाय सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त अटोमोबाइल, शिक्षा, रियलस्टेट तथा मोबाइल र इलेक्ट्रोनिक सामग्रीको वितरण क्षेत्रमा समेत समूहको लगानी रहेको छ । समूहका विभिन्न व्यवसायमार्फत हालसम्म एक हजार दुई सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको जनाइएको छ । ड्याडिज केकलाई नेपालका प्रमुख सहरमा विस्तार गर्दै भविष्यमा अन्तर्राष्ट्रिय बजारसम्म नेपाली बेकरी ब्रान्डको पहिचान पुर्‍याउने समूहको दीर्घकालीन लक्ष्य छ । उत्पादन, अनुसन्धान, व्यावसायिक तालिम, वितरण र रिटेल नेटवर्कलाई एकीकृत गरी पूर्ण बेकरी इकोसिस्टम विकास गर्ने योजना पनि अघि सारिएको छ । ‘स्वदेशमै कायापलट ल्याऔँ, युवा उद्यमशीलताको सम्मान गरौँ’ भन्ने नारासहित अघि बढेको ड्याडिज ग्रुपले नेपाली उद्यमशीलता र स्थानीय उत्पादन क्षमतालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने लक्ष्य लिएको छ ।