मकवानपुरको भीमफेदी गाउँपालिकामा पर्ने चिसापानीगढीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १४ जनाकाे मृत्यु भएकाे छ । उक्त दुर्घटनामा थप ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
सर्लाहीबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी आज बिहीबार बिहान सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । उक्त गाडिमा चालकसहित २० जना सवार थिए ।
दुर्घटनाको कारण पत्ता लगाउन प्रशासनले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । दुर्घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिएका छन् ।
समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशङ्कर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् । समितिलाई दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।