एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

1.3K

एनपीएल : सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीले १६औं ओभरमै लक्ष्य भेट्टाएको हो ।
यससँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । उपाधि रक्षा गर्ने अभियानमा रहेको लुम्बिनीले अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पराजित सुदूरपश्चिमले भने फाइनल प्रवेशको अर्को अवसर पाएको छ । उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्दैछन् ।
लुम्बिनीको जितमा विकेटकिपर ब्याटर निरोशन डिकवेला नायक बने । उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए । कप्तान रोहित पौडेलले २८ बलमा २१ रन जोडे ।
लक्ष्य पछ्याउने क्रममा २४ रनमै दुई विकेट गुमाएको लुम्बिनीलाई डिकवेला र रोहितले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेपछि लुम्बिनी सहज जिततर्फ अघि बढेको थियो । ओपनर डार्सी सर्ट खाता नखोल्दै आउट भए भने आसिफ शेखले ४ रन मात्रै बनाउन सके ।
दिलिप नाथले १२ बलमा अविजित १० रन बनाउँदै विजयी छक्का प्रहार गरे । सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई तथा स्कट कुगेलेइन र हेमन्त धामीले एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई ८ विकेटको क्षतिमा १०५ रनमा रोकेको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रनको योगदान दिए ।
सुरुवातमै धरमराएको सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । यस सिजन पहिलो खेल खेलिरहेका ओपनर जर्ज मन्से पहिलो बलमै आउट भए । अर्का नयाँ खेलाडी तानुका दबारे पनि तेस्रो ओभरमा रुबेन ट्रम्पलम्यानको बलमा डिकवेलाबाट क्याच भए । विनोद भण्डारीलाई अभिशेष गौतमले डिकवेलाकै हातबाट क्याच गराए ।
त्यस्तो कठिन अवस्थामा पुगेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै उकासेका थिए । तर, १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि सुदूरपश्चिमको इनिङ्स पुनः दबाबमा परेको थियो ।
त्यसपछि आएका थरिन्दु रत्नायके शेर मल्लको बलमा बोल्ड भए । आरिफ शेख ४ रन बनाएर आउट भए भने दीपेन्द्र अन्तिम ओभरमा किशोर महतोको बलमा क्याच भए । स्कट कुगेलेइन अन्तिम बलमा रनआउट भए । अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले कसिलो बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले पनि दुई विकेट हात पारे । अभिशेष गौतम र किशोर महतोले एक-एक विकेट लिए । सुदूरपश्चिमका दुई खेलाडी रनआउट भएका थिए ।