दूध तथा दुग्धजन्य पदार्थ : गुणस्तर, स्वच्छता र शुद्धतामा जाेड

1.3K

दूध तथा दुग्धजन्य पदार्थ : गुणस्तर, स्वच्छता र शुद्धतामा जाेड

दूध तथा दुग्धजन्य पदार्थको उत्पादनदेखि उपभोगसम्म गुणस्तर र शुद्धता कायम गर्न सरोकारवालाले डेरी व्यवसायीलाई आग्रह गरेका छन् । रुपन्देही डेरी व्यवसायी समितिको १८औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले दूधको गुणस्तर उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएकाले उत्पादन, प्रशोधन र वितरणका हरेक चरणमा खाद्य स्वच्छता कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बनेल्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीकी प्रमुख डा. बालकुमारी शर्माले खाद्य पदार्थ स्वच्छ, स्वस्थ र गुणस्तरीय हुनुपर्ने बताइन् । खाद्य स्वच्छता उत्पादनदेखि उपभोगसम्मका सबै प्रक्रियामा अनिवार्य हुनुपर्ने उल्लेख गर्दै उनले दूध उत्पादनदेखि उपभोगसम्म व्यावसायिक मर्यादा कायम राख्न आग्रह गरिन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नरिश्वर शर्मा पौडेलले डेरी व्यवसायमा गुणस्तर, नियमित अनुगमन र व्यावसायिक मर्यादा कायम राख्दै व्यवसायीको हकहित संरक्षणमा एकताबद्ध हुनुपर्ने बताए । व्यवसायीका समस्या समाधानका लागि संघले आवश्यक पहल र पैरवी गर्न सधैँ तयार रहेको उनको भनाइ थियो ।
उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले उपभोक्ताले प्रयोग गर्ने खाद्य पदार्थ गुणस्तरीय हुनुपर्ने बताउँदै त्यसका लागि उपभोक्ता स्वयं पनि सचेत हुनुपर्ने र व्यवसायी थप जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दूध तथा दुग्धजन्य पदार्थको व्यवसाय उपभोक्ताको स्वास्थ्य र किसानको जीविकोपार्जनसँग जोडिएको संवेदनशील क्षेत्र भएको बताए । डेरी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन नियमित अनुगमन, व्यवसायीको क्षमता अभिवृद्धि तथा गुणस्तर मापदण्डको पालना आवश्यक रहेको उनले उल्लेख गरे ।
समितिमा आबद्ध नभएका डेरी व्यवसायीलाई समेट्दै जिल्लाभरका व्यवसायीलाई संस्थाको दायरामा ल्याउने, तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने र स्थानीय तहसँग सहकार्य गरी व्यवसाय प्रवर्द्धन गर्ने योजना रहेको पाण्डेले बताए । उपभोक्तालाई स्वस्थ र गुणस्तरीय दूध उपलब्ध गराउनुका साथै किसानको उत्पादनले उचित मूल्य पाउने वातावरण बनाउनु समितिको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
समितिका पूर्वअध्यक्ष नेत्र पाठकले समितिको पहलमा मिल्क होलिडे अन्त्य गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि व्यवसायीको हकहित र समस्या समाधानका लागि सक्रिय हुन सुझाव दिए ।
समितिका सल्लाहकार कृष्णप्रसाद भट्टराईले दूधको शुद्धता गोठदेखि ओठसम्म कायम हुनुपर्ने बताए । अनुगमनका नाममा किसान तथा व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्तिको भने उनले विरोध गरे ।
समितिका निवर्तमान अध्यक्ष रामकृष्ण शर्माले दूधको मूल्य लागतका आधारमा निर्धारण गर्नुपर्ने, उत्पादनको गुणस्तर सुधार गर्नुपर्ने र किसानको बाँकी भुक्तानी समयमै उपलब्ध गराउनुपर्ने बताए । साथै, भन्सार प्रक्रिया पूरा नगरी आयात भइरहेका दूध तथा दुग्धजन्य पदार्थको नियन्त्रणमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष कपिल ज्ञवाली, समितिका उपाध्यक्ष जीवलाल न्यौपाने, सचिव यमप्रसाद शर्मालगायतले डेरी व्यवसायको गुणस्तर, व्यावसायिक एकता र व्यवसायीका समस्याबारे धारणा राखेका थिए ।