औषधी व्यवसायी सङ्घको राष्ट्रिय महाधिवेशन : नीतिगत सुधारमा केन्द्रित हुने

1.3K

औषधी व्यवसायी सङ्घको राष्ट्रिय महाधिवेशन : नीतिगत सुधारमा केन्द्रित हुने

नेपाल औषधी व्यवसायी सङ्घको १५औँ राष्ट्रिय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने महाधिवेशनले औषधी व्यवसायसँग सम्बन्धित नीतिगत, कानुनी तथा व्यावहारिक समस्याको समाधानमा केन्द्रित भएर आगामी कार्यदिशा तय गर्नेछ भने नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
महाधिवेशनमा देशका सात प्रदेश र ७७ जिल्लाबाट ३ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने सङ्घले जनाएको छ । महाधिवेशनमा अघिल्लो कार्यकालको समीक्षा, संस्थागत उपलब्धि तथा चुनौतीको मूल्याङ्कन र आगामी कार्ययोजना निर्माण गर्ने र आगामी ३ वर्षकाे लागि नयाँ नेतृत्व चयन गर्ने प्रमुख कार्यसूची निर्धारण गरिएकाे संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालले बताए । उनका अनुसार नेपालमा वार्षिक करिब ७० अर्ब रुपैयाँ बराबरको औषधी कारोबार हुँदै आएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र यसले देशभरका औषधी व्यवसायीका साझा समस्या पहिचान गरी समाधानका लागि रणनीति तय गर्ने पनि उनले बताए । उनका अनुसार व्यवसायीका सरोकारलाई संस्थागत रूपमा अघि बढाउँदै औषधी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने विषयलाई अधिवेशनले प्राथमिकता दिने छ ।
अधिवेशनमा औषधी ऐन परिमार्जन, व्यवसाय सञ्चालनमा देखिएका प्रशासनिक जटिलता, बजार व्यवस्थापन, सहज आपूर्ति, औषधीको गुणस्तर र मूल्य तथा नियमनकारी निकायसँगको समन्वयलगायत विषयमा छलफल हुनेछ ।
जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र नागरिकमैत्री बनाउन नीतिगत सुधार आवश्यक छ । विशेषगरी औषधी उत्पादन, आयात, वितरण तथा बिक्रीवितरणका क्रममा देखिएका कानुनी र व्यावहारिक समस्यालाई समाधान गर्न अधिवेशनले साझा धारणा निर्माण गर्ने संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले बताए ।
व्यवसायीहरूले औषधी ऐन, २०३५ लाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन् । औषधीको गुणस्तर र सुरक्षामा कुनै सम्झौता नगरी व्यवसाय सञ्चालनलाई सहज बनाउने तथा नागरिकलाई गुणस्तरीय औषधीको सहज उपलब्धता सुनिश्चित गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाई छ ।
औषधी व्यवसाय स्वास्थ्य सेवासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र हाे । यसको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । औषधी व्यवस्था विभाग र व्यवसायीबीच नीतिनिर्माण, नियमन तथा कार्यान्वयनका क्रममा प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा सङ्घले जोड दिँदै आएको छ ।
सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले देशभरका औषधी व्यवसायीलाई एउटै छातामुनि जोड्न सङ्घले महत्वपूर्ण भूमिका खेलेको बताउँदै व्यवसायीबीचको एकता र सहकार्यलाई थप सुदृढ, साझा समस्याको समाधानका लागि संस्थागत भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए । उनका अनुसार औषधी व्यवसायसँग सम्बन्धित समस्या कुनै एक क्षेत्र वा जिल्लामा मात्र सीमित छैनन् । देशभरका व्यवसायीका साझा सवाल पहिचान गरी समाधानका लागि राज्यसँग समन्वय र पैरवी गर्नु सङ्घको महत्वपूर्ण जिम्मेवारी हाे ।
कर्णालीकाे सुर्खेतमा गरिएकाे महाधिवेशनको व्यवस्थापन कर्णाली प्रदेश समितिले गरेकाे छ । कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला कार्यसमिति यसकाे तयारीमा जुटेका छन् । कर्णाली प्रदेश अध्यक्ष प्रेमबहादुर भण्डारीले महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी भइरहेको बताए । उनले नेतृत्व चयनसंगै औषधी व्यवसायमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या समाधानमा केन्द्रित हुने बताए ।
व्यवसायको वास्तविक अवस्था, बजारको आवश्यकता र नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नीति निर्माण गर्न सके औषधीको सहज उपलब्धता र व्यवसायको दिगोपन सुनिश्चित गर्न सकिने उनको भनाइ छ ।
महाधिवेशनमा करिब ७० अर्ब रुपैयाँको वार्षिक कारोबार हुने औषधी बजारमा पारदर्शिता कायम गर्दै गुणस्तरीय औषधीको उपलब्धता सुनिश्चित गर्नु राज्य र व्यवसायी दुवैको साझा जिम्मेवारी रहेको विषय पनि उठाइनेछ ।