संक्रमणकालीन न्याय राजनीतिक प्रतिशोध होइन : कांग्रेस नेता शाह

1.3K

संक्रमणकालीन न्याय राजनीतिक प्रतिशोध होइन : कांग्रेस नेता शाह

संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक प्रतिशोधका रूपमा नभई द्वन्द्वपीडितलाई न्याय दिलाउने र राज्यलाई जवाफदेही बनाउने प्रक्रियाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘विस्तृत शान्ति सम्झौताको दुई दशक : सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन पुनः आग्रह’ विषयक नागरिक संवादमा बोल्दै शाहले शान्ति प्रक्रियाले लामो समय बितिसक्दा पनि पूर्णता नपाउनुका कारण खोज्नुपर्ने बताए ।
उनले द्वन्द्वका क्रममा व्यक्ति र परिवारसँगै सार्वजनिक सम्पत्ति तथा संस्थागत संरचनामा पुगेको क्षतिको विषयलाई पनि न्याय र मेलमिलाप प्रक्रियामा समेट्नुपर्ने धारणा राखे । सत्यतथ्य पहिचान, पीडितलाई न्याय, क्षतिपूर्ति र पुनःस्थापनासँगै दोषीलाई कानुनी जवाफदेही बनाउनु संक्रमणकालीन न्यायको मूल उद्देश्य हुनुपर्ने उनको भनाइ छ ।
मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिक इच्छाशक्तिको अभाव र सत्ता स्वार्थका कारण संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गिन नसकेको बताए । राजनीतिक सौदाबाजीबाट मुक्त गरी दोषीको पहिचान र कानुनी जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनले उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका सभापति महेन्द्र उपाध्यायले दुई दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाउनु दुःखद भएको बताउँदै पारदर्शी र निष्पक्ष प्रक्रियाबाट न्याय निरूपण गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति प्रजापाल गिरीले आयोग गठन, कानुन निर्माण र उजुरी सङ्कलनलाई उपलब्धिका रूपमा लिएर अब न्याय निरूपणको काम अघि बढाउनुपर्ने बताए । उनले न्यायबिनाको शान्ति र सुशासन सम्भव नहुने धारणा राखे ।
नेकपाका केन्द्रीय सदस्य शरद वलीले द्वन्द्वकालीन घटनाको सत्यतथ्य पहिचान र सबै पीडितलाई न्याय दिलाउनुपर्ने बताए । नेकपाका नगर अध्यक्ष महेन्द्र भुसाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम श्रेष्ठले पनि आयोगलाई सक्रिय बनाई न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराए ।
उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष अधिवक्ता माधव घिमिरेले संक्रमणकालीन न्याय प्रक्रियालाई प्रभावकारी बनाउन आयोगलाई पूर्णता दिई तत्काल काम अघि बढाउन सरकारसँग आग्रह गरे ।
कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक स्वार्थभन्दा माथि उठेर पीडितलाई न्याय, सत्यको पहिचान र दिगो शान्तिका लागि संक्रमणकालीन न्याय प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कपिल ज्ञवालीकाे सभापतित्वमा भएकाे थियाे ।