आज लक्ष्मीपुजा र लक्ष्मी जयन्ती

1.3K

आज लक्ष्मीपुजा र लक्ष्मी जयन्ती

laxmi

“भैलेनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँशीको बारो, गाईतिहारो भैलो….”

टोलछिमेकका चेलीवेटीहरु आजको साँझ मिठो भाकामा गीत गाउँदै भैलो खेल्न आउँनेछन्, यसरी भैलो खेल्न आएकाहरुले गाउने परम्परागत गीत नै भैलेनी हो । अर्कोतर्फ सेलरोटीको दाउन हाल्न भ्याईनभ्याई हुनसक्छ । अर्सा, अर्नसा अनि पत्रेको यो पर्व तिहारको आज तेश्रो दिन अर्थात गाईतिहार हो है । औंशीको निस्पट्ट अँध्यारोमा लहरै बालिएका बत्तिका प्रकाशहरु, आजको दिन घर अनि टोललाई दुलही झै सिंगारिएको हुन्छ । दलान, पीढि, अँगेनो, मुलखाँबो लगायत हरेक झ्याल, ढोकाहरुमा आज बत्ति बालिन्छ, मुख्य प्रवेशद्वारमा सयपत्री फूलका मालाहरु राखिनुको साथै विभिन्न प्रकारका झिलमिलि विद्यूतीय बत्तिहरु पनि प्रयोग गर्ने चलन बढ्दै गएको छ । यस्ता बत्तिहरुको झिलमिलि प्रकाशभित्रको घर अनि टोल आज वास्तवमै अद्भूत देखिन्छ ।

आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार गौमाताको सेवा गरिन्छ । वैदिक सनातन हिन्दू संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दू धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । कुनै चोखोनितो काम गर्दा यीनै गौमाताको गाैहूत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परीक नेपाली माटोका घरहरू एकाविहानै गार्इको गोबर र माटो मिसाएर दैलो, चूल्होलार्इ लिप्ने चलन छ । गार्इको दूधको महिमा त अपरम्पारै छ ।

उपलब्ध भएसम्म हरियो गोबरले आँगन सफासुग्घर अनि चट्ट पार्नकालागि गार्इको गोबरले लिप्ने गरिन्छ । कमेरो माटोले या राता माटाले भित्तापोतेको घर अनि हरियो गोबरले लिपेको तर पूरापूरी ओभानो नभइसकेको आँगन, बालिएका दियोहरु, झलमल्ल आँगनको प्रवेशद्वार, भान्सामा पाकेको सेलरोटीको एकतमासको मिठो गन्ध अनि प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु आजको दिनको विशिष्टता हो । आजको दिन राती अबेरसम्म लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दू संस्करमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ । आजको दिन पनि घरघरमा केराका जोर खम्बाहरू अनि त्यसमा बाँसका चुच्चो पारी सजाइएका भाटाहरुमा बत्ति अनि दियोहरु राख्ने ठाँउ बनाईन्छ ।

आजको साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न अाकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चो, चारकुने, त्रिभूजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।

यी रङ्गहरु, बत्तिहरु अनि पर्विय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरु आकाशबाट पृथ्वीलोकमा झरेर सबैका आँगनीमा बत्तिकारुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरुझै हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, भैलेनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।

लक्ष्मी जयन्ति

आजको दिन नेपाली साहित्यकालागि अत्यन्त विशेष दिन हो । कारण आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको हो । आज वहाँको १०८औं जन्म जयन्तिको अवसरमा विभिन्न साहित्यीक कार्यक्रमहरुको आयोजना गरेर मनाईन्छ । नेपाली साहित्य अनि वाङ्गमयमा महाकवी देवकोटाको योगदान उल्लेखनिय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरुले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।

“क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन”

मुनामदनको यी श्लोक उतिबेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी समाजिक न्यायको विगूल स्वरूप महाकवी छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ । उनको लेखनको चर्चा विभिन्न अन्तराष्ट्रिय लेखकहरुले पनि दिलखोलेर गरेका छन् ।

“के नेपाल सानो छ र!” भन्ने महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध त विधालय पाठ्यक्रममै पनि हामीमध्ये धेरैले पढेका छौं । निवन्ध स्वरुपमा अझ प्रखर र भरिला अभिब्यक्तिहरु दिनसक्ने महाकवीले सत्र वर्षको उमेरमैं भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा पनि कलामा स्नात्कोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वनकुसुम, प्रमिथस लगायतका कृतीहरु अनि भिखारी, गाईनेको गीत, पागल, पुलती लगायतका कवितासँग्रहहरु नेपाली साहित्य अनुरागीकालागि सृजनाको कोशेढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रणसहितको एउटा सम्मोहन पाइन्छ ।

वर्तमान त्रिभुवन विश्वविधालयको ब्यस्थापन अनि वढोक्तरीका लागी पनि महाकवी आफू शिक्षा मन्त्रीहुँदा गरेका दुरगामी कदमहरु प्रशंसनीय छन् । वि सं २०१६ सालमा संसारवाट विदा भएका यिनै महाकवीको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धासुमन । भाषा, साहित्य र हाम्रा मूर्दन्य साहित्यकार तथा श्रष्टाहरू वहाँहरूको सृजनासंगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुञ्जेल बाँचिरहनुहुनेछ ।साभार्=हाम्रो पात्रोबाट