
बुटवल, ११ मंसिर । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन हुन सकेन भने मुलुक संकटमा फस्ने बताउँदै सबैलाई संविधान कार्यान्वनयकालागि चुनावमा केन्द्रित हुन आह्वान गर्नुभएको छ ।
संविधान कार्यान्वयनको एक मात्रै बाटो चुनाव भएकाले संघीय संरचना अनुसार आगामी २०७४ माघ भित्र तीन तहको चुनावको वातावरण बनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले निर्वाचन नहुने र संविधान कार्यान्वयन नहुने स्थिती आयो भने कुनै न कुनै रुपमा तानाशाही शासन हावी हुने बताउनु भयो । ‘परिवर्तनलाई संस्थागत गर्ने एउटै उपाए निर्वाचन नै हो ।’ उहाँले भन्नुभयो–‘निर्वाचन नहुने परिस्थितीको कल्पना पनि गर्नु हुँदैन ।’
उहाँले संघीय संरचनाको सिमाङ्कन मिलानमा उत्पन्न जटिलतालाई सम्बोधन गर्नै पर्ने बताउँदै एकातीर सम्बोधन गर्दा अर्कोतिर भत्किन पनि नहुने बताउनु भयो । पछिल्लो समयमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा राख्ने गरि सरकारले तयारी गरेको संविधान संशोधनको प्रस्तावमा प्रदेश नं. ५ का जनताहरु सन्तुष्ट छैनन् ।
सिमाङ्कन लगायतका मुलभूत कुराहरुमा संशोधन गर्नुपर्छ । तर यहि नै हो भनेर पार्टीले निर्णय नगरिसकेको बताउँदै उहाँले यो विषयलाई आफूले शिर्ष बैठकमा राख्ने आश्वासन दिनुभयो ।
पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई चार नम्बरमा राख्ने विषयलाई लिएर दलहरु बिचमा बढेको ध्रुवीकरण छिटै हट्ने र निर्वाचन हुने पनि उहाँले बताउनु भएको छ । कुनै न कुनै विन्दुमा राजनीतिक सहमति हुने बताउँदै उहाँले सहमतिकै आधारमा निर्वाचन पनि हुने बताउनु भएको छ । उहाँले एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा संघीय संरचनाको अभ्यास नभईसकेकाले पनि केही अफ्ठ्यारो भएको बताउँदै उहाँले संविधानमा छुटेका तथा बाझेका कुराहरुलाई शंसोधन गर्न सकिन भएपनि जनताको भावना विपरित कुनै पनि कुराको निर्णय लिन नहुने बताउनु भयो । प्रदेश नं. ५ मा हेरफेर गर्दा पनि मधेश केन्द्रित दलहरु सन्तुष्ट हुन नसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘प्रदेश नं. ५ को सिमाङ्कन हेरफेर गरेर पनि उपेन्द्र जीले वेलकम गर्न सक्नुहुन्न ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की माथि लागेको महाभियोग प्रस्ताव भोटिङ्को अवस्था सम्म पुग्दा नेपाली काँग्रेसले निर्णय लिने बताउनु भएको छ । महाभियोग प्रस्ताव गर्नेले नै प्रस्ताव फिर्ता पो लिने हुन की ! त्यस्तो भयो भने के गर्ने ? त्यसैले नेपाली काँग्रेसले हतार गरेर निर्णय नगरेको उहाँले बताउनु भयो ।
उहाँले आमरण अनसन सत्याग्रहको अन्तिम अस्त्र भएकाले डा. गोविन्द केसीलाई सामान्य कुरालाई लिएर आमरण अनसन नबसीहाल्न आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कबिन्द्र नेपालले गर्नुभएको थियो ।