सुनवलवासीलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता

1.3K

सुनवलवासीलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सम्झौता

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाका नागरिकले अब निःशुल्क रगत तथा रक्ततत्व प्राप्त गर्ने भएका छन् । यसका लागि सुनवल नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाबीच निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार सुनवल नगरपालिकाका स्थायी बासिन्दाले रेडक्रस रुपन्देही अन्तर्गतका रक्तसञ्चार सेवा केन्द्र तथा ब्लड बैंकबाट आवश्यक रगत र रक्ततत्व निःशुल्क प्राप्त गर्नेछन् । बिरामीले रगत प्राप्त गर्दा लाग्ने सेवा शुल्क नगरपालिकाले रेडक्रसलाई भुक्तानी गर्नेछ ।
सुनवल नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र उपाध्याय र रेडक्रस रुपन्देहीका तर्फबाट जिल्ला सभापति विमला अर्यालले सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख सूर्यप्रसाद दुबे, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गौतमलगायतको उपस्थिति थियो ।
सम्झौताअनुसार नगरपालिकाले प्रतियुनिट रगत वा रक्ततत्व उपलब्ध गराएबापत रेडक्रसलाई ९५० रुपैयाँ सेवा शुल्क उपलब्ध गराउनेछ । रेडक्रसले प्रत्येक महिनाको १० गतेभित्र सेवा विवरण र बिलसहितको प्रतिवेदन नगरपालिकामा पेस गर्नुपर्नेछ ।
निःशुल्क सेवा लिन बिरामी सुनवल नगरपालिकाको बासिन्दा भएको प्रमाण खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा अन्य आधिकारिक कागजात पेस गर्नुपर्नेछ । आकस्मिक अवस्थामा आवश्यक कागजात तत्काल उपलब्ध गराउन नसके तोकिएको शुल्क तिर्नुपर्ने भए पनि २४ घण्टाभित्र कागजात पेस गरेमा उक्त रकम फिर्ता गरिने व्यवस्था सम्झौतामा गरिएको छ ।
अस्पतालमा लगिएको रगत प्रयोग नभए गुणस्तर कायम रहने गरी २४ घण्टाभित्र ब्लड बैंकमा फिर्ता गर्नुपर्नेछ । रगतको सहज उपलब्धता सुनिश्चित गर्न नगरपालिकाले वार्षिक कार्ययोजना बनाएर कम्तीमा वर्षमा दुईपटक रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्नेछ । नगरभित्र रक्तदानप्रति उत्प्रेरणा जगाउने कार्यक्रमलाई समेत प्राथमिकता दिने सम्झौतामा उल्लेख छ ।
रगतको सेवा शुल्क सम्बन्धित सरकारी निकायबाट परिमार्जन भएमा सोहीअनुसार लागू हुने व्यवस्था पनि गरिएको छ । कार्यक्रमको प्रभावकारिता र कार्यान्वयन अवस्थाबारे दुवै पक्षले प्रत्येक वर्ष कम्तीमा एकपटक समीक्षा गर्ने जनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये सुनवलसहित ४३ वटा पालिकासँग नागरिकलाई रगत तथा रक्ततत्व उपलब्ध गराउँदा लाग्ने सेवा शुल्क निःशुल्क गर्ने सम्झौता गरिसकेको छ । रेडक्रसले रुपन्देहीका १६, कपिलबस्तु १०, पाल्पा रिब्दीकाेट, रम्भा र तिनाउ गरि ३, नवलपरासीका सुनवल सहित सुस्ता, गुल्मीका रुरु, दरवारदेवीस्थान, छत्रकाेट, धुर्काेट, मदाने, मुसिकाेट, चन्द्रकाेट र कालिगण्डकी तथा अर्घाखाचीका सन्दिखर्क, पाणिनी, छत्रदेव र भूमिकास्थानमा सम्झाैता गरि सेवा उपलब्ध गराउदै आएकाे छ । यस व्यवस्थाले आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उपचारका क्रममा रगतको सेवा शुल्कको भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।