तिलोत्तमा मेलामा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

1.3K

तिलोत्तमा मेलामा सुरक्षा : प्रहरीदेखि सिसिटिभीको सूक्ष्म निगरानी

रुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । मेलामा हुन सक्ने सम्भावित जोखिम तथा अप्रिय घटना रोक्न नेपाल प्रहरी, निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मी र बाउन्सर परिचालन गरी सुरक्षा निगरानीलाई प्रभावकारी बनाइएको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा यहि मंसिर ३ गतेदेखि मणिग्राममा सञ्चालन गरिएको नवौं तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सवको समग्र सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गर्नुका साथै मञ्च, स्टल, सचिवालय र मेला परिसरका विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । क्यामेरामार्फत मेला परिसरका गतिविधिलाई निगरानी गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

मेलाको सचिवालय र कलाकारहरूको सुरक्षाका लागि विशेष रूपमा बाउन्सरसमेत परिचालन गरिएको छ । मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला आयोजक सुरक्षा व्यवस्थापन समितिका संयोजक नरेश क्षेत्रीले दर्शक, व्यवसायी, कलाकार र अतिथिको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध मिलाइएको बताए । उनका अनुसार भैपरी आउन सक्ने सम्भावित दुर्घटनाबाट हुने क्षतिको जोखिम व्यवस्थापनका लागि बिमासमेत गरिएको छ ।
‘मेलामा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन हामी पूर्ण रूपमा सचेत छौँ । सुरक्षाकर्मी परिचालनदेखि सिसिटिभी निगरानीसम्मका व्यवस्था मिलाएका छौँ,’ उनले भने-‘भैपरी आउन सक्ने सम्भावित दुर्घटनाबाट हुने क्षतिको जोखिम व्यवस्थापनका लागि बिमासमेत गरिएको छ ।’ आयोजकले सुरक्षासँगै मेलाको व्यवस्थापन, दर्शकको सहज आवागमन र व्यवसायीको सुरक्षित कारोबारलाई समेत ध्यान दिएको संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेलामा व्यापारिक गतिविधिसँगै उद्यमशीलता प्रवद्र्धनलाई पनि विशेष महत्व दिइएको छ । १४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ३२५ स्टल रहेका छन् । आयोजकले पाँच लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ । मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ ।

कृषि तथा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन र गतिविधि समेटिएको संघका महासचिव तथा मेला आयोजक मुल समितिका प्रवक्ता राजकुमार पाण्डेले बताए । उनका अनुसार विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव र संघर्षका कथा सुनाइएकाे छ ।
मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग पनि जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका आकर्षण बनेका छन् । त्यसैगरी तिलोत्तमाका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार तथा नेपाल आरोग्य वर्ष २०२७ को प्रवद्र्धनका लागि पर्यटन ग्यालरीमा समेत दर्शकको आकर्षण देखिएको छ ।
मेलामा बुधबार दोहोरी गित प्रतियोगिता, तिलोत्तमा डान्स आईडल र तिलोत्तमा सिंगिङ आईडल प्रतिस्पर्धात्मक कार्यक्रम भएका छन् । त्यस्तैगरी गायक/गायिकाहरु अर्जुन सापकोटा, रामजी खाण, दिपक दर्लामी, सकुन्तला गैरे, कोपिला न्यौपाने तथा हास्य कलाकार विष्णु जी पाण्डे (माइला बा) सहित स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।