५ नम्बरबाट पहाडी जिल्लालाई अलग बनाउन नदिन समिति

280

५ नम्बरबाट पहाडी जिल्लालाई अलग बनाउन नदिन समिति

5-pardesh

बुटवल ११ मंसिर । प्रदेश नम्बर ५ का जिल्लाहरुलाई कुनै हालतमा अलग हुन नदिने भन्दै बुटवलमा दबाब समिति गठन गरिएको छ । आज बुटवलमा भएको नागरिक समाज र युवाहरुको भेलाले ‘अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समिति’ गठन गरेको हो ।

भेलाले विष्णु पोखरेललाई संयोजक चयन गरेको छ । सरकारले प्रदेश ५ का गुल्मी, अर्घाखाँची, पाल्पा, रुकुम, रोल्पा र प्युठान पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान संसोधन प्रस्ताव ल्याउन लागेकाले त्यसको सशक्त विरोध गर्ने निर्णय गर्दै दबाबमुलक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

जस अनुसार आइतबार बुटवलका विभिन्न चोकमा कालो झण्डा र व्यानर टांग्ने, ३ बजे पुष्पलाल पार्कमा विरोध प्रदर्शन र कोण सभा गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै सोमबार स्थानीय प्रशासन मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

समितिले विभिन्न संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेश ५ का पहाडी जिल्लालाई अलग गर्ने गरी संसोधन दर्ता भए कडा कार्यक्रम गर्ने संयोजक विष्णु पोखरेलले बताउनु भयो ।

भेलाले विक्रम केशीको संयोजकत्वमा आर्थिक उपसमिति बनाएको छ । आरपी पंगेनीको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरेको छ । सो उपसमितिको सह–संयोजकमा विकास गौतम र सरोज कंडेल तथा सचिवमा ऋषि भण्डारीलाई चयन गरिएको छ ।