शिक्षण संस्था बन्द भएकोमा चिन्ता

1.3K

शिक्षण संस्था बन्द भएकोमा चिन्ता

banda

तस्वीर सौजन्य :विकास गौतम

बुटवल, २० मंसिर । शिक्षा क्षेत्रसंग सम्बन्धित सरोकारवालाले शिक्षण संस्थाहरु बन्द भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश विभाजन गर्न नहुने आन्दोलन सबैको भएपनि शिक्षण संस्थाहरु बन्द भएका कारण विद्यार्थीको कोर्ष पुरा हुन नसक्ने भन्दै उनीहरुले चिन्ता ब्यक्त गरेका हुन् ।

समयमै पाठ्यक्रममा भएको कोर्ष पुरा हुन नसके विद्यार्थीलाई घाटा लाग्ने भएकाले आन्दोेलन भएपनि शिक्षण संस्थाहरु निर्वाध रुपले सुचारु हुनुपर्ने बताए । जिल्ला शिक्षा कार्यालयको सहभागितामा प्याब्सन, एन प्याब्सन, हिसान र विभिन्न  पेशागत शिक्षक संघसंगठनहरुद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्ने सहभागिले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।

उनीहरुले  शिक्षण संस्थाहरु सञ्चालनका लागि सहज वातावरण बनाई दिन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन् । रुपन्देहीमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुलाई सहभागि बनाई शिक्षण संस्था खोल्नका लागि सामुहिक प्रतिवद्वता जाहेर गराउने उद्वेश्यले कार्याक्रमको आयोजना गरिएपनि दलका प्रतिनिधि नआएपछि त्यस्तो हुन सकेन ।

कार्यक्रममा सहभागि नेपाली काँगे्रस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अनुप बराल, विप्लव माओवादीका शरद ओली र नयां शक्ति नेपालका नारायण नागिलाले शिक्षण संस्थाहरु निर्वाध रुपमा सञ्चालन गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा सहभागि अन्य दलका नेताहरुले भने बन्द फिर्ता नहुने र बन्द रहेसम्म शिक्षण संस्थाहरु बन्द नै रहने धारणा राखेका थिए ।

राष्ट्रिय जनमोर्चाका गणेश गौतम र नेपाल मजदूर किसान पार्टीका हरिसुन्दर वासीले आन्दोलन राष्ट्रियताको पक्षमा भएको बताउंदै संविधान संशोधन विधेयक फिर्ता ल्याउनुपर्नेमा जोड दिनु भएको थियो । राष्ट्रिय जनमोर्चाका गणेश गौतमले संशोधन विधेयक   फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने र शिक्षण संस्थाहरु पनि नखुल्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यार्थीको शैक्षिक सम्प्रभुताको अधिकारलाई सुनिश्चित गर्नका लागि शिक्षण संस्थाहरु चलाउनु पर्ने बताउनुभयो । कार्यक्रममा कालिका माविका प्रधानाध्यापक घनश्याम पाठक, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष सोमनाथ गिरी, हिसानका दिनेश भुसाल, प्याब्सनका कुलानन्द पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायतले बोल्दै बिद्यालयलाई  शान्तिक्षेत्र घोषणा गरी निर्वाधरुपमा विद्यालय संचालन गर्ने वातावरण निर्माणमा सवै लाग्नुपर्ने भनाई राख्नुभएको थियो ।