
बुटवल, १ पुस । नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले स्वाथ्यकर्मीहरुलाई निर्वाध रुपमा आफ्नो कार्यक्षेत्रमा जाने वातावरण मिलाई दिन अपिल गरेको छ ।
संघका सचिव डा. ईन्द्र ढकालद्वारा आज जारी विज्ञ्प्तीमा अतिआवश्यक स्वास्थ्य सेवा प्रदानको लागि चिकित्सक, नर्स तथा स्वाथ्यकर्मीहरु सेवा प्रदान गर्न ड्युटीमा जान कठिनाई भएकोले सबैलाई कार्यक्षेत्रमा जाने वातावरण मिलाईदिन अपिल गरिएको छ । विज्ञ्प्तीमा सेवा प्रभावित हुन नदिन स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी निर्वाध हिड्ने वातावरण मिलाइन दिन आग्रह गरिएको छ ।
संविधान संशोधन प्रस्तावको विरुद्वमा रुपन्देही लगायतका जिल्लामा आज देखि तीन दिन सम्म ७२ घण्टे आमहड्ताल भएको छ ।
अपिल
स्वाथ्य सेवा भनेको अत्यन्तै संवेदशिल क्षेत्र हो । यसले २४ सै घण्टा आफ्नो सेवा प्रवाह गरिरहनु पर्दछ । हाल प्रदेश नम्बर ५ मा जारी रहेको ७२ घण्टे आम हडतालको क्रममा यस क्षेत्रमा सञ्चालित स्वाथ्य संस्थाहरुमा अतिआवश्यक स्वाथ्य सेवा प्रदानको लागि कार्यरत चिकित्सक, नर्स तथा स्वाथ्य कर्मीहरु सेवा प्रदान गर्न ड्युटीमा जान कठिनाई भएको हुनाले सम्पूर्ण स्वाथ्य सेवा समेत प्रभावित हुने देखिएको छ ।
अतः आम हडतालको क्रममा स्वाथ्य क्षेत्रमा कार्यरत रहेका सम्पूर्ण स्वाथ्यकर्मीहरुलाई निर्वाध रुपमा आफ्नो कार्यक्षेत्र सम्म जाने वातावरण मिलाईदिनुहुन सम्बन्धीत सबै पक्षलाई अनुरोध गर्दछौं ।
डा. ईन्द्र ढकाल
सचिव