बिसिजी खोप अभाव

1.3K

बिसिजी खोप अभाव

कबिन्द्र नेपाल /
बुटवल, २५ पुस । बच्चा जन्मिदा बित्तिकै लगाउनु पर्ने क्षयरोग बिरुद्धको बिसिजी खोप लुम्बिनी अञ्चल अस्पतालमा अभाव भएको छ । जसका कारण लुम्बिनी अञ्चल अस्पतालमा मात्रै दुई महिनामा १ हजार ८ सय नवजात शिशु उक्त खोपबाट वञ्चित भएका छन् ।

लुम्बिनी अञ्चल अस्पतलमा नवजात शिशुलाई लगाउनु पर्ने क्षयरोग बिरुद्धको बिसिजी खोप दुई महिना यता छैन । बच्चा जन्मदा वितिकै क्षयरोग विरुद्ध लगायतु पर्ने बिसिजी खोप लगाउनै पर्ने हुन्छ तर लुम्बिनी अञ्चल अस्पतालमा उक्त खोप नभएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो ।

लुम्बिनी अञ्चल अस्पतालमा दैनिक सरदर ३० जना महिला सुत्केरी हुन्छ । यहि आँकडाका अनुसार बिसिजी खोपबाट दुई महिनाको अवधीमा १ हजार ८ सय नवजात शिशुले क्षयरोग बिरुद्धको बिसिजी खोप लगाउन नपाएको अस्पतालले जनाएको छ । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने विसिजी खोप बच्चा जन्मदा वितिकै दाया हातको माथिल्लो भागमा लगाउनु पर्छ । जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर्सले उपलब्ध गराउने उक्त खोप दुई महिना वितिसक्दा पनि उपलब्ध नगराउनुले अंचल अस्पतालको सेवाको प्रभावकारीता दर्शाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चुरामणी भण्डारीले यो समस्या रुपन्देही मात्रै नभएर देशभरको समस्या भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार क्षयरोग र केही मात्रामा कुष्टरोग बिरुद्ध लगाईने बिसिजी खोप किन्न विभागले नै नसकेकाले रुपन्देही जिल्ला मात्र नभई नेपाल भरिका अस्पतालमा अभाव भएको हो ।

स्वास्थ्य विभागले किनेर पठाएपछि जनस्वास्थ्यले व्यबस्थापन गर्ने भएकाले अहिले विभागले नै नपठाएकाले आफूहरुले व्यबस्थापन गर्न नसकेको उहाँले बताउनु भयो । विभागले युनिसेफसंग लिने बिषयमा कुरा भईरहेको बुझिएकाले केही दिनमा समस्या समाधान हुन सक्ने उहाँले बताउनु भयो । ‘तर कहिलेसम्म आउला भने भन्न सकिंदैन ।’ उहाँले भन्नुभयो ।

बि.सं. १९६७ सालमा स्थापना भएको लुम्बिनी अञ्चल अस्पतालमा पश्चिमाञ्चल क्षेत्रका १३ जिल्ला र भारतको उत्तर प्रदेशका केही भूभागबाट औषधोपचारकालागि आउने गर्दछन् ।