
बुटवल, ७ माघ । बुटवलमा भएको अन्तरमावि अञ्चलस्तरीय बादविवाद प्रतियोगिताको उपाधी बेथल ईङ्गलिस बोर्डिङ्ग स्कुल तानसेन पाल्पाले हात पारेको छ ।
एभरेष्ट उच्च माविको आयोजनामा आज भएको प्रतियोगितामा १८ प्रतियोगी विद्यालयहरुलाई पछि पार्दै पाल्पा तानसेनको बेथल ईङ्गलिस बोर्डिङ्ग स्कुलका अप्सना कामु प्रथम भएकी छन् । उनले उपाधी सहित १० हजार नगद, शिल्ड तथा प्रमाण पत्र हात पारेकी हुन् ।
यस्तै प्रतियोगितामा नेपाल ईङ्गलिस प्रिपेमेटोरी स्कुल तानसेनका प्रज्वल शर्मा द्वितीय र न्यू होराईजन बोर्डिङ्ग स्कुल बुटवलका प्रिज्मा पोखरेलले तृतिय स्थान हासिल गरेका छन् । उनीहरुले क्रमश ६ हजार र तीन हजार नगद सहित शिल्ड तथा प्रमाण पत्र हात पारेका छन् । यस्तै दीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका सृजल पोखरेल र ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिड स्कुल कपिलबस्तुले प्रत्साहन पुरस्कार हात पारेका छन् ।
एभरेष्ट विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विभिन्न समयमा हुने यस्तो प्रतिस्प्रर्धि प्रतियोगिताहरुले विद्यार्थीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन मद्दत गर्ने भएकाले समयसमयमा विद्यार्थीहरुलाई विभिन्न प्रकारका अतिरिक्त कृयाकलापमा सहभागि गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्याब्सन रुपन्देहीका उपाध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालय निरीक्षक मनोज गैरे, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक डा. कपिल लामिछाने, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. हिरण्यलाल ज्ञवाली, उपप्राध्यापक शंकर प्रसाद गैरे, नेपाल पत्रकार महासंघका अध्यक्ष शेरबहादुर केसी, कृष्णप्रसाद भट्टराई लगायतले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमहरु गरि रहनु पर्ने बताउनुभयो ।
एभरेष्टका बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्यको स्वागत, प्राचार्य कृष्ण न्यौपानेको धन्यवाद ज्ञापन तथा अनुस्का सुवेदी र आविस्कार पराजुलीको संचालनमा कार्यक्रम भएको थियो । यसअघि लुम्बिनी अञ्चलका ६ जिल्लामा भएको प्रतियोगितामा ९० विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए भने त्यसबाट ६ जिल्लाका ३/३ विद्यालयहरु छनोटमा परि अञ्चलस्तरीय प्रतियोगितामा १८ जना सहभागी भएका थिए ।