अव गर्भपतन गराउन शुल्क तिर्नु पदैन

1.3K

अव गर्भपतन गराउन शुल्क तिर्नु पदैन


प्रविण गाहा/
बुटवल  ११ माघ । लुम्बिनी अंचल अस्पताल बुटवलमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । अस्पतालले आज देखि निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।

यस अघि १२ हप्ता सम्मको लागि एक हजार र १२ हप्ता भन्दा माथीको गर्भपतनलाई १५ सय रुपैया लिइदै आएकोमा आज देखि निःशुल्क सेवा सुरु भएको हो । अस्पतालमा मेडिकल र सर्जिकल दुवै प्रकारका गर्भपतन सेवा निःशुल्क भएको हो ।

गत वर्ष २०७२/०७३ मा चार सय २५ जनाले गर्भपतन सेवा लिएको अस्पतालका सूचना अधिकृत रेग्मीले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले यस आर्थिक वर्षमा सबै सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाउन निर्देशन दिएको छ ।

यस आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम नेपाल सरकार सचिव स्तरीय कात्तिक २ गतेको निर्णय अनुसार सरकारी स्वास्थ्यमा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाउन बाटो खुलेको हो ।

सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० अनुसार १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा गर्भपतन गर्न कानुनले मञ्जुरी दिएको छ । जबर्जस्ती करणी, हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गराउन सकिने हुन्छ ।

लिङ्ग गहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्तामाथिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । गर्भवती महिलाको ज्यानै जाने अवस्थामा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्रै १८ हप्तासम्मको गर्भपतन गराउने कानुनी व्यवस्था रहेको छ ।