बुटवललाई मेडिकल हवको रुपमा बिकास गर्न सुझाव

788

बुटवललाई मेडिकल हवको रुपमा बिकास गर्न सुझाव

बुटवल, १५ फागुन । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा नव नियुक्त अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनाललाई पदस्थापन गरिएको छ । लुम्बिनी अञ्चल अस्पतालको १०७ औं स्थापना दिवस तथा पाँचौ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष खनाललाई पदस्थापन गरिएको हो ।

पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा बिकास गन अपरिहार्य रहेको बताउँदै मेडिकल कलेज बनाउने गरि काम गर्न र आफ्नो पनि त्यसमा पूर्ण समर्थन र सहयोग रहने विश्वास दिलाउनु भयो । मन्त्री खाँणले बुटवललाई मेडिकल हवको रुपमा बिकास गर्न सल्लाह दिँदै त्यहि ढंङ्गबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने पनि विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी अञ्चल अस्पतालका नव नियुक्त अध्यक्ष खनालले सबैको सहयोग र सकारात्मक सुझाव पाए नागरिकले गुणस्तरीय सेवा पाउने गरी काम गर्न आफू तयार रहेको बताउँदै रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाक, पूर्व अध्यक्ष जनक कोईराला, अस्पताल बिकास समितिका निवर्तमान अध्यक्ष प्रायश्चित श्रेष्ठलगायतले अस्पतालको समग्र बिकासका लागि समन्वय र सहकार्यकालागि आफूहरु सधै तयार रहेको बताएका थिए ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र सन्जेलले अस्पतालको बिकासकालागि निर्माण भएको गुरु योजना कार्यान्वयन र फोहोर व्यबस्थापन चुनौतीको रुपमा खडा भएको बताउँदै यी काम गर्न सके अस्पतालको मुहार फेरिने बताउनु भयो । सोही अवसरमा अस्पतालले सञ्चालन गर्न लागको आफ्नै फार्मेसीको समेत उद्घाटन गरिएको थियो ।

हाल निजी संस्थालाई दिईएको फार्मेसीको टेण्डर सकिएपछि सोही स्थानमा अस्पतालले आफै फार्मेसी सञ्चालन गर्ने समेत मेडिकल सुपरिटेण्डेन्ट डा. सन्जेलले बताउनु भयो । लुम्बिनी अञ्चल अस्पतालको १०७ औं स्थापना दिवस र ५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा अस्पताल परिसरमा सरसफाई, बिरामीलाई फलफूल वितरण तथा निःशुल्क रक्तचाप परीक्षण र उचित परामर्श सेवा समेत प्रदान गरिएको अस्पतालका स्टोर प्रमुख नमनारायण वेलवासेले बताउनु भयो ।