आम्दामा प्रस्तुति सेवालाई निःशुल्क बनाउन माग

948

आम्दामा प्रस्तुति सेवालाई निःशुल्क बनाउन माग

बुटवल, २६ फागुन । आम्दा नेपालद्वारा बुटवलमा सञ्चालित सिद्वार्थ वाल तथा महिला अस्पतालले छिटो छरितो र स्तरीय स्वास्थ्य सेवा दिन नसकेको भन्दै स्थानीयले छिटो छरितो र स्तरीय सेवा दिन माग गरेका छन् । अस्पताल बुटवलवासीको सम्पति र गहना भएकाले अस्पताललाई सुधार गर्न आवश्यक रहेकोमा उनीहरुले जोड दिएका छन् ।

बिहीबार अस्पतालले आयोजना गरेको अस्पताल र स्थानीयबीचको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय सरोकारवालाले अस्पतालको ब्यवस्थापन पक्ष कमजोर रहेको भन्दै गुनासो गरे । आम्दा अस्पताल वुटवल ९मा अवस्थित रहेको र अस्पताललाई १० विगाह जग्गा उपलब्ध गराउने काममा पनि वडावासीको योगदान रहेकाले वडावासीलाई अस्पतालले परिचय पत्रको व्यवस्था गर्न र स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिन उनीहरुले माग गरेका छन् ।

यस्तै प्रस्तुति सेवालाई निःशुल्क बनाउन र अस्पतालमा आमा सुरक्षा कार्यक्रम तत्काल सञ्चालन गर्न अस्पताल व्यवस्थापन समितिलाई आग्रह गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सकहरु अस्पताल भन्दा वढी मेडिकलमुखी भएकाकारण अस्पतालमा आएका विरामीले समयमा उपचार पाउन नसकेको भन्दै उनीहरुले यसमा सुधार गर्न माग गरेका छन् ।

कार्यक्रममा आम्दा नेपालका कोअर्डिनेटर डा. पशुपति रेग्मीले बुटवलमा खोलिएको सिद्धार्थ वाल तथा महिला अस्पताल वालवालिका र महिलालाई लक्षित गरेर उपत्यका बाहिर खोलिएको पहिलो अस्पताल भएको वताउंदै यसको उन्नती, विकास र विरामीको सेवामा सवै लाग्नु पर्ने वताउनु भयो । उहांले अन्तरक्रिया आएका सुझाव, जिज्ञासा र अपेक्षाहरु सकारात्मक रहेको भन्दै स्थानीयका मागहरुलाई बोर्डमा राख्ने आश्वासन दिनुभयो । कार्यक्रममा बुटवल उप– महानगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुईटेलले सिद्वार्थ वाल तथा महिला अस्पताल बुटवलवासीको सम्पति भएकाले गल्ती कमजोरीलाई सुधार गरेर यसको विकास र स्तरोन्नती गर्नु सवैको साझा दायित्व भएको बताउनुभयो ।

उहांले स्थानीय संघसंस्था तथा प्रतिष्ठानसंग सहकार्य गरेर अस्पतालको स्तरवृद्वि गर्नुपर्ने र स्थानीयका जायज मागलाई सम्वोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । अस्पतालका कार्यकारी निर्देशक डा. विनोद पराजुलीले अस्पतालमा भएका कमी कमजोरीलाई सुधार गरेर अस्पतालको स्तरवृद्वि गर्नुपर्नेमा जोड दिनुभयो । उहांले अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्वीकृत भएपनि आर्थिक समस्याका कारण संचालन गर्न नसकिएको वताउंदै आगामी आर्थिक वर्ष भित्रमा अस्पतालालई सुधार गरेर थप स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

उहांले सिमित साधन स्रोतका वावजुद अस्पताले विरामीहरुलाई सस्तो, शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिंदै आएको उल्लेख गर्नु भयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले सबैको सहयोगमा अस्पताल सञ्चालन भएकाले यसको विकास र संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहांले आगामी वर्ष देखि नर्सिङ्ग कलेज संचालन गर्न पहल हुनुपर्ने भन्दै आम्दा नेपाल र स्थानीय ब्यवस्थापन समिति वीच संयुक्त बैठक वस्नु पर्ने वताउनु भयो । स्थानीय सरोकार समितिका सदस्य प्रकाश पाठकले गुरुयोजना अनुसार अस्पतालको विकास हुन नसकेको बताउंदै स्थानीयको पूर्ण सहयोग हुंदापनि स्थानीयको भावनालाई अस्पतालले व्यवास्ता गरेको गुनासो गर्नुभयो ।

कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका सदस्य जीवन ओझा, अस्पताल सरोकार समितिका संयोजक दामोदर भट्टराई, पत्रकार दिनेश पाण्डे, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जी.सी, वडा नम्बर नौका टोल सुधार समितिका संयोजक मोहनीलाल रिजाल, स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष श्रीकान्त सुवेदी, मिलन टोल समितिकी राधा ज्ञवाली, डम्बरबहादुर गौतम, प्रतिभा पाण्डे, हरिप्रसाद अर्याल, यमप्रसाद गैरे, तिलक न्यौपाने, अविनास अधिकारीलगायतले वोल्दै सिद्धार्थ वाल तथा महिला अस्पताल वुटवलको सम्पत्ति र गहना भएकाले यसको स्तरोन्नतीका लागि स्थानीयले अभिभावकिय भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा पत्रकार हरिष ढकालले सहजीकरण गर्नु भएको थियो ।