काठमाडौँ, २७ फागुन । गर्मीको समय सुरु भइसकेको छ । यो समयमा जाडोमा भन्दा मानिस विभिन्न स्वास्थ्य समस्या देखिन्छ । यो मौसममा खानेकुरा, पानी र धुलोधुवाँ र हावाका माध्यमबाट विभिन्न सरुवा रोगका भाइरस सक्रिय रहने भएकाले सर्तक रहन चिकित्सकले सल्लाह दिएका छन् । यसैमध्ये एक हो हेपाटाइटिस ‘ए’ र ‘इ’ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले गर्मीमा देखिने हेपाटाइटिस ई अर्थात भाइरस हेपाटाइटिसले गर्भवती महिलालाई बढी असर गर्ने भएकाले ध्यान दिनुपर्ने बताउनुहुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गर्भवतीको मृत्युमध्यको ३० प्रतिशत मृत्यु हेपाटाइटिस ई अर्थात भाइरस हेपाटाइटिस हुने गरेको छ ।
अहिले खासगरी पाँच हेपाटाइटिस देखिएका छन् । हेपाटाइटिस ए, बी, सी, डि र ई । यी सबै प्रकारका रोग हेपाटोट्रोपिक नामक भाइरसबाट लाग्छ । यसले कलेजोमा मात्र बासस्थान बनाउँछ । यसले कलजोलाई मात्र खराब गर्छ ।
वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन ग्याष्ट्रो एन्ड हेपाटोलोजी प्रा डा विधाननीधि पौडेलले भाइरस हेपाइटाइटिस भाइरसको सङ्क्रमणबाट हुने कलेजोको रोग भएकाले यसले कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने (सिरोसिस अर्फ लिभर), पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने समस्या हुने बताउनुहुन्छ ।
हेपाटाइटिस ‘ए’ र ई प्रदूषित पानी, सङ्क्रमित मानिसको दिसा, राम्ररी नपाकेका खानेकुरा खाँदा र ¥यालबाट पनि सर्न सक्छ । यो वर्षात्को समयमा महामारीको रुपमा देखिने गर्छ । वर्षात्मा खानेपानीमा ढल मिसिन्छ । यस्तो पानी प्रयोग गर्दा यो रोग लाग्ने सम्भावना रहन्छ । यो स्कुले बच्चा र भीडभाड हुने स्थानमा बढी देखिन्छ । किनकी एउटै चर्पी प्रयोग गर्दा, सरसफाइ नहुँदा र दूषित पानी प्रयोग गर्दा यो रोग फैलन सक्ने सम्भावनालाई बढाउने हुनाले यसबाट जोगिन पनि चिकित्सकले सुझाएका छन् ।
डा पौडेलले भन्नुभयो, ‘‘हेपाटाइटिस ‘ए’ र ‘इ’ गर्भवतीलाई भएको खण्डमा लिभर फेलर भई गर्भ तुहिने र मृत्यु हुने खतरा पनि रहन्छ । विश्वमा हेपाटाइटिस ‘ए’ को भ्याक्सिन भएपनि नेपालमा उपलब्ध छैन । ‘ई’ भने भ्याक्सिन आजसम्म बनेको छैन । त्यसैले यो रोग लाग्ने कारणबाट बच्नु नै उत्तम उपाय हो ।’’
सरुवा रोग विशेषज्ञ पुन यो रोग लागेपछि साधारणतया रुघाखोकी लाग्ने, शरीर दुख्ने, अल्छी लाग्ने, घुँडा दुख्ने, खानामा रुची नहुने, पछि आँखा र पिसाब र छालामा पँहेलोपन देखिने बताउनुहुन्छ । ‘‘यसबाट बच्च सफा उमालिएको पानीको मात्र प्रयोग गने, चर्पीमा गएर मात्र दिसापिसाब गर्ने गर्नुपर्छ । सागपात प्रयोग गर्दा राम्रोसँग पखाली राम्रोसँग पकाएर मात्र खानुपर्छ । ढलको उचित प्रबन्ध मिलाउनुपर्छ । खानेपानीको पाइप र ढलको पाइप एकैस्थानमा राख्नु पनि हुदैँन,’’ उहाँले भन्नुभयो ।
काठमाडौँ जस्तो सहरमा पानी र ढलको पाइप एकै स्थानमा हुँदा यी रोगको महामारी फैलनसक्ने खतरा सधैँ रहने गरेको छ । सरुवा रोग अस्पतालमा एक महिनाअघि नै हेपाटाइटिस ‘ई’ का तीनजना बिरामी देखिएका थिए ।