
डा.नन्दु पाठक/
सन्दर्भः विश्व दमरोग दिवस ०२ मे. २०१७
दम रोग एक दीर्घकालिन रोग हो । जसमा फोक्सोको सास नलीमा भएको मांसपेशीहरु सुनिन्छ । यहि कारणले सास नली खुम्चीन्छ अनि सास फेर्न असजिलो हुन्छ । विश्व स्वास्थ्य संगठन ( WHO ) को अनुसार हाल करिव १० देखि१५ करोड व्यक्ति दम रोग बाट प्रभावित भएका छन् । विशेष गरेर विहान र साँझ बढि खोकी लाग्नु, सास फेर्न गाह्रो र छाति भारी हुनु दम रोगको मुख्य लक्षण हुन । दम रोग निको हुने रोग होइन । यसलाई नियन्त्रणमा राखेर साधारण जीवन जिउन सकिन्छ ।
विशेषज्ञ डाक्टरले दिएको सल्लाह सुझाव अनुसार नियमित औषधी सेवन गरेर दम रोगको लक्षण ठिक भएपनि औषधी खान छोड्नु हुदैन । यो रोगलाई औषधी मात्र नभई रोग उत्पन्न गर्ने कारणहरु जस्तैः धुवाँ, धुलो, चिसो, किरा आदी बाट बच्न सके विना कुनै शारीरिक अफ्ठयारो सहित बाँच्न सकिन्छ । जब हामी दम रोगको बारेमा सोच्दछौं, हामी हाम्रो अगाडी सास फेर्न गाह्रो भएको, खोकी लागिरहेको, छातिमा घ््यारघ््यार आवाज आएको विरामी मान्छेको सम्झना आउँछ, तर के यो सधैं यस्तो हुन्छ त ? हामी धेरै जस्तो यो रोगको सत्यतालाई बुझ्न नखोजेर वेवास्ता गछौं । जसले गर्दा रोग झन बल्झिन्छ ।
जव कोही मान्छेलाई दम रोगको संकेत देखिन्छ ,तव उसले आफ्नो संसार अन्त्य भएझैं सोच्दछ । अचम्मको कुरा के छ भने, दम रोग सजिलै व्यवस्थित र नियन्त्रण गर्न सकिन्छ । यदि दम रोगको उचित उपचार गरियो भने हामिले परिवार, साथी सँग गर्नुपर्ने दैनिक गतिविधिहरु त्यस्तो चुनौतिपुर्ण हुन्न । साँचो कुरा भन्दा तपाई दमरोग सजिलै नियन्त्रण गर्न सक्नु हुन्छ ।
दम रोगको जानकारी, रोगको सत्यतालाई मान्ने, रोगको सही उपचार (इन्हेलेसन थेरापी) गर्ने । यि तिन कुराको पालना गरे जो कोही पनि दम रोग नियन्त्रण गर्न सक्छ । दम रोगको लक्षण देखिएको छैन भने दम रोग छैन भन्न मिल्दैन । यो नै दम रोगको महत्वपुर्ण चुनौती हो । जसले गर्दा विरामीले आफुलाई सन्चो भएको महसुस गरेर औषधीको प्रयोग गर्न छोड्छ । यसको मुख्य उद्देश्य औषधीको खर्च कम गर्न हुन्छ । तर औषधी सेवन गर्न छोड्दा रोग भित्रबाट बढ्दै जान्छ र जुन सुकै समयमा रोग झन बल्झिन सक्छ । हामीले यो कुरा बुझ्न जरुरी छ कि दम रोगको लक्षण नदेखिए पनि दम रोगबाट मुक्त भएको हुदैनौं ।
यस्तो कदम चाल्नु भन्दा पहिले आफ्नो चिकित्सक संग सल्लाह लिन जरुरी हुन्छ । दम रोग दिर्घकालिन रोग भएकाले औषधी पनि लामो समय सम्म सेवन गरिरहनु पर्दछ । धेरै विरामीहरु आफुलाई ठिक भएजस्तो लाग्यो भने औषधी लिन छोड्छन । यो कदम विरामीको लागि एकदम घातक हुन सक्छ । किनभने औषधी छोड्नु भनेको आफुलाई स्वास्थ्य राख्न मद्दत गरेको चिज छोड्नु हो । डाक्टरले औषधी सेवन गर्न छोड्नु हुदैन भन्दा भन्दै पनि नेपालमा ७० प्रतिशत दमरोगीहरुले औषधी सेवन राम्रो संग लिदैनन् र केही महिनामै छोड्छन ।
दम रोग विरामीले औषधी (इन्हेलर) सेवन गर्न छोड्नुको कारण धेरै छन् । यसमा औषधीको शुल्क, औषधीको नकारात्मक असर, इन्हेलर औषधी प्रति गलत धाराणा तथा समाजले विरामी प्रति हेर्ने दृष्टिकोणहरु रहेका छन् । यस्तै मनोवैज्ञानिक कारणहरु जस्तैः डाक्टर प्रति अविश्वास, औषधी प्रति धेरै नै आशा गर्नृ, आफ्नो रोग प्रति रिस उठ्नु, रोगलाई वास्ता नगर्नु पनि रहेका छन् ।
दम रोगको भ्रमहरुलाई हटाउन र इन्हेलर औषधीको बारेमा बुझ्न र त्यसलाई पालना गर्न धेरै नै जरुरी छ । दम रोगबाट सफल हुन प्रभावकारी उपचार अर्थात इन्हलेसन औषधी चाहिन्छ । इन्हलेसन औषधी नेपालमा प्रत्येक दिनको लगभग २० देखि ४० रुपैयाँ सम्म पर्छ । इन्हेलर कोर्टिकोस्टेरोेइड थेरापी (ICT) दम रोगको उपचारको जगको रुपमा चिनिन्छ । कोर्टिकोस्टेरोेइड थेरापि फोक्सोमा भएको सास नलिमा जान्छ र यसले तुरुन्त काम गर्न थाल्छ ।
इन्हेलर थेरापीको स्थानिय रुपमे फोक्सोमा काम गर्ने हुनाले यसको नकारात्मक असर अत्यन्त न्युन छ । खाने औषधी र सुईको मामिलामा भने औषधीको मात्रा इन्हेलरको मात्रा भन्दा धेरै गुना बढी हुन्छ जसले गर्दा औषधी शरीरको अन्य भागमा पनि जान्छ , जहाँ औषधीको आवश्यक हुदैन । यसले गर्दा खाने औषधीको नकारात्मक असर धेरै हुन्छ ।
(बरिष्ठ फिजिसियन डा.पाठक लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत हुनुहुन्छ ।)