
बुटवल, २ जेठ । होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देही र एशियन स्कुल अफ होटल म्यानेजमेन्टको संयुक्त आयोजनामा बुटवलमा सञ्चालन गरिएको दुई दिने आधारभूत होटल व्यबस्थापन तालिम सकिएको छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणी पाण्डेले सभ्य शहर निर्माणकालागि सरसफाईलाई ध्यान दिनु व्यबसायीलाई आग्रह गर्नुभयो । बुटवल नगरपालिकाको कार्यालयले पनि बुटवललाई पर्यटकीय केन्द्रका रुपमा बिकास गर्न सरसफाई र सभ्यतालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै उहाँले घर तथा साना ठूला सबैखाले होटल व्यबसायबाट निस्केका फोहोरलाई सहि रुपमा व्यबस्थापन गर्न आग्रह गर्नुभयो ।
बुटवलका नदिनाला तथा खोल्साहरुमा डम्पिङ् साईडका रुपमा बिकास भएको बताउँदै त्यसले नगरलाई कुरुप बनाउने भएकाले पनि नगरको सरसफाईमा कार्यालयले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । बुटवल अन्य शहरहरुसंग तुलनात्मक रुपमा सफा भएपनि सफा नभएको बताउँदै उहाँले संवेदनशिल फोहोर (मेडिकल वेष्ट) पनि सडकमा जथाभावी फाल्ने प्रबृत्तिलाई निरुत्साहित गर्न कार्यालयले कारवाही प्रकृया अंगाडी बढाएको उल्लेख गर्नुभयो । नगरपालिकाले हालै ल्यावबाट निकालिएको मेडिकलजन्य फोहोर जथाभावी सडकमा फालेको भेटिएकाले एक जनालाई ५० हजार रुपैंया जरिवाना गरेको थियो ।
होटलमा हुनुपर्ने मापदण्ड अनुसारको व्यबस्थापकीय पक्ष सुधारकालागि सञ्चालन गरिएको तालिममा बुटवल तथा आसपासका ४० जना व्यबसायी सहभागि थिए । संघका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा एशियन स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक जिएस गुरुङ्, प्रशिक्षक श्रीप्रसाद भट्टराई, सहभागि केशव कंडेल, संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, महासचिव बाबुराम गौतम लगायतले तालिमले व्यबसायीक सुधार तथा चुस्त बनाउने विश्वास व्यक्त गरेका थिए ।