दुब्र्यसनबाट जोगिन सहकार्य र हातेमालो

707

दुब्र्यसनबाट जोगिन सहकार्य र हातेमालो

बुटवल,असार । लागुऔषध तथा दुब्र्यसनीका विरुद्धमा सबै एक भएर लागेमात्र यसको नियन्त्रण तथा रोकथामका लागि सहयोग पुग्ने सरोकारवालाले बताएका छन् । लागुऔषध तथा दुब्र्यसनको दलदलमा बढीमात्रामा युवा पुस्ता फस्ने गरेको भन्दै उनीहरुले यसको रोकथामका लागि सबैबीचमा सहकार्य र हातेमालो आवश्यक रहेको बताएका थिए ।

अन्तर्राष्ट्रिय लागुऔषध ओसार पसार विरुद्धको दिवसको अवसर पारेर करुणा चौतारी फाउण्डेशन लागुऔषध, मध्यपान उपचार तथा पुनस्थार्पना केन्द्र तिलोत्तमा–११ मृगौलीले सोमबार आयोजना गरेको सचेतना कार्यक्रममा रुपन्देहीका बरिष्ठ जिल्ला जनस्वास्थ्य प्रशासक केयरसिंह गोदारले खुल्ला सीमानाका कारण ठुलो युवाशक्ति भारतीय बजारमा गएर अबैध रुपमा लागुऔषध नेपाल भित्राउने र सेवन गर्ने गरेका कारणले पनि यो चुनौतिका रुपमा रहेको बताउनुभयो ।

उहाँले जिल्ला जनस्वास्थ्य कार्यालय एक्लैले केही नहुने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तथा मानसिक स्वास्थ्य फोकलप्रशन कृष्णप्रसाद पोखरेलले पछिल्लो समय परिवारको रेखदेख तथा समय ब्यवस्थापनमा देखिएका कमि कमजोरिका कारण युवाहरुले गलतबाटो रोज्न बाध्य हुने गरेको बताउनुभयो । उहाँले बढी मात्रामा १५ देखि २५ वर्ष उमेरका युवाहरु लागुऔषध तथा दुव्र्यसनको सिकार हुने गरेको देखिएकाले जतिसक्दो अभिभावकले आफ्ना बालबालिकाहरुसँग समय ब्यवस्थापन गर्नु पर्ने सुझाव दिनुभयो ।
केन्द्रका अध्यक्ष तथा मानसिकरोग विशेषज्ञ डाक्टर मनोज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा औषधी ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष शिव ज्ञवाली, पत्रकार ईन्दिरा अर्याल, पुनस्र्थापना केन्द्रका कार्यक्रम संयोजक दिलमन थापा, परामर्शदाता उपेन्द्र श्रेष्ठ, केन्द्रका सदस्य उमेशचन्द्र आचार्य, केन्द्रमा उपचार भई स्वस्थ भएका कमल खत्री लगायतले लागुऔषध तथा दुब्र्यसनको दलदलबाट युवाहरुलाई जोगाउन अभिभावक नै गम्भिर हुनु पर्ने बताउनुभयो ।
उक्त केन्द्रबाट अहिलेसम्म साढे दुई सय बढीले उपचार पाएका र तिनमा ब्राम्हण,क्षेत्रीको संख्या बढी र त्यसपछि जनजाति रहेको केन्द्रका प्रशासकीय प्रमुख विमल ढकालले जानकारी दिनुभयो । सोमबार मनाईएको अन्तर्राष्ट्रिय लागुऔषध ओसार पसार विरुद्धको दिवसको नारा “सुन पहिले” राखिएको थियो ।