अधिकांश ल्याव विना दर्ता सञ्चालनमा ,यी हुन दर्ता भएका ल्याव

770

अधिकांश ल्याव विना दर्ता सञ्चालनमा ,यी हुन दर्ता भएका ल्याव

कबिन्द्र नेपाल/ बुटवल, भदौ । रुपन्देही जिल्लामा सञ्चालित अधिकांश ल्याव विना दर्ता सञ्चालनमा रहेको पाईएको छ ।

सञ्चालनमा रहेका ल्यावमा पनि अधिकांशले मापदण्ड पुरा गरेका छैन । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीबाट जिल्लामा ३० वटाले मात्रै ल्याव सञ्चालनको अनुमति लिएका छन् ।

तर जिल्लामा करिव १५० बढी ल्याव सञ्चालनमा रहेको बताईन्छ । ल्याव सञ्चालनकालागि सम्बन्धित नगरपालिकाको सिफारिसमा घरेलु कार्यालय वा कम्पनी रजिस्टारको कार्यालयमा फर्म दर्ता गर्नुपर्छ । फर्म दर्ता गरेपछि जिल्ला जनस्वास्थ्यको स्वीकृति पश्चात मात्रै ल्याव सञ्चालन गर्न पाईन्छ ।

तर यी सबैकुराहरु केही पनि पुरा नगरि जिल्लामा यत्तिका धेरै ल्याव सञ्चालनमा आएपनि नियमनकारी निकाय भने मौन छन् । ल्याव अध्ययन गरेका व्यक्तिलाई मेडिकल काउन्सीलले लाईसेन्स प्रदान गर्दछ । त्यस्ता व्यक्तिले माथिको प्रकृया पुरा गरेर मात्रै ल्याव सञ्चालन गर्न पाउने व्यबस्था छ ।

विना दर्ता विना स्वीकृत ल्याव सञ्चालन गर्दा त्यसले प्रत्यक्ष रुपमा जनस्वास्थ्यमा प्रभाव पार्छ भने ठूलो परिणाममा राजश्व समेत छली भईरहेको छ ।

ल्याव सञ्चालन गर्ने प्रकृया पुरा गर्दा सम्म नगरपालिकामा २ हजार, घरेलु कार्यालयमा ६ हजार र सञ्चालन अनुमति स्कृति गर्ने निकाय जिल्ला जनस्वास्थ्य कार्यालयमा १० हजार गरी १८ हजार रुपैंया राजश्व जम्मा गर्नुपर्छ ।

यो प्रकृया पुरा गरेर जिल्लामा ३० वटा मात्रै फर्मले ल्याव सञ्चालनको स्वीकृति लिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य निरिक्षक मोति पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा नेशनल प्याथ ल्याव, लुम्बिनी प्याथोलोजी, जनकल्याण स्वास्थ्य क्लिनिक, आवाश हेल्थ क्लिनिक, बैद्धिक ल्याथोलोजी, लाष्ट एयर डाईनोष्टिक ल्याब्रोटरी, बुटवल प्रयोगशाला, रक्षा हेल्थ क्लिनिक, हिमकुमारी प्याथोलोजी, मेडिक्रश डाईनोष्टिक, सेन्टर ल्याव, सन्तोष स्वास्थ्य क्लिनिक, सिद्धार्थ प्याथल्याव, आयुष हेल्थ क्लिनिक, लाईफ केयर , कान्तिपुर प्रयोगशाला, सिद्धार्थ प्याथोलोजी, कालिगण्डकी हेल्थ क्लिनिक, मंगल स्वास्थ्य प्रयोग शाला, पाण्डे प्रयोगशाला प्राली, सञ्जिवनी प्याथोलोजी प्राली, सिद्धार्थ प्याथोलोजी प्राली, थाईरो ल्याव बुटवल प्रालि, तिनाउ प्रयोगशाला, ज्ञवाली प्रयोगशाला, प्रगती ल्याथोलोजी लगायत ३० वटा ल्यावलाई सञ्चालन स्वीकृति प्रदान गरेको उहाँले बताउनु भयो ।

ल्याव सञ्चालनको लागि सरकारले तयार गरेको प्रयोगशाला तथा भौतिक पूर्वाधार मापदण्ड पुरा गरेको हुनुपर्छ । सरकारले भौतिक पूर्वाधार तर्फ ल्याव सञ्चालन गर्ने कोठा, व्याकअप सहितको विद्युत, पानी, वेसिन, फोहोर व्यबस्थापनकालागि तीन वर्गीकरणको डष्टविन, फर्निचर, कलेक्सन कोठा, बिरामी प्रतिक्षालय, महिला तथा पुरुषकालागि छुट्टा छुट्टै शौचालयको अनिवार्य व्यबस्था गर्नुपर्छ ।

त्यस्तै मेडिकल उपकरण, मुल्य सूचि, कर्मचारी विवरण सहितको नागरिक वडा पत्र अनिवार्य रुपमा राखेको हुनुपर्छ । तर जिल्लामा सञ्चालित अधिकांश ल्यावमा सरकारले निर्धारण गरेको उल्लेखित मापदण्ड पुरा भएको पाईँदैन ।

जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय र स्वास्थ्य सम्वद्ध सरकारी निकायहरु यसका नियमन तथा अनुगमन गर्ने निकाय भएपनि सञ्चालनकालागि दर्ता तथा सम्बन्धित निकायको स्वीकृति लिए नलिएको तथा दर्ता भएका ल्यावमा पनि सरकारले निर्धारण गरेको मापदण्ड पुरा गरे नगरेको नियमन तथा अनुगमन गरेको पाईँदैन ।