सुरक्षाको ग्यारेन्टी पछि, डाक्टरहरुको आन्दोलन फिर्ता

1.3K

सुरक्षाको ग्यारेन्टी पछि, डाक्टरहरुको आन्दोलन फिर्ता

बुटवल /सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुको सुरक्षाको ग्यारेन्टी गर्ने लिखित प्रतिवद्धता जनाएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा चिकित्सक संघ र सरकारी पक्षबीच शुक्रबार बालुवाटारमा वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री देउवाले चिकित्सकको पूर्णसुरक्षाका लागि जस्तोसुकै कदम चाल्ने प्रतिवद्धता जनाएको र मन्त्रिपरिषदको निर्णय पनि सच्चिएर आएकाले आन्दोलन फिर्ता लिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

 

उपचारको क्रममा कुनै बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति स्वयं चिकित्सकले दिनुपर्ने सरकारको निर्णयविरुद्ध डाक्टरहरुले असोज २ गतेदेखि देशभरका अस्पताल, क्लिनिक र नर्सिङहोम बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बन्चित भएपछि चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन दबाव बढेको थियो ।

न्यूयोर्क भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री देउवाले चिकित्सकहरूलार्इ वार्तामा बोलाएका थिए । वार्तामा प्रधानमन्त्री देउवाले जायज माग सम्बोधन गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

वार्तामा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाविरुद्ध आक्रमण र दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको छ । सरकार र चिकित्सक संघबीच भएको सहमतिपत्रमा स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी र नेपाल चिकित्सक अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । उपचारको क्रममा डाक्टरको लापरवाही पुष्टि भए कारवाहीका लागि चिकित्सक संघले पनि सहयोग गर्ने सहमतिपत्रमा उल्लेख छ ।

चिकित्सकहरुको मागअनुसार यसअघि नै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गर्ने प्रतिवद्धता जनाएको थियो ।