कालाजारका ५ बिरामी लुम्बिनीमा फेला, एक को मृत्यु

430

कालाजारका ५ बिरामी लुम्बिनीमा  फेला, एक को मृत्यु

   बुटवल ५ कार्तिक /लुम्बिनी अञ्चल अस्पताल बुटबलमा कालाजारका बिरामी फेला परेका छन्। बाहिरी जिल्लाबाट उपचार गर्न लुम्बिनी अञ्चल अस्पताल बुटबल आएका मध्ये ५ जना कालाजारका बिरामी फेला परेको अस्पतालले जनाएको छ।

उपचार गर्न आएका मध्ये एक जनाको मृत्यु भएको लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेडिकल रेकर्डस अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए। मृत्यु हुने प्युठान हरजंग गाउपालिकाकी ५० वर्षीया महिला रहेको उनले बताए।

कालाजारका बिरामी प्युठानका ४ र अर्घाखाँचीका १ जना रहेको उनले बताए। सरकारले नारायणी पश्चिममा कालाजारका बिरामी नभएको घोषणा गरे पनि लुम्बिनी अञ्चल अस्पतालमा बिरामी फेला परेका छन्। सरकारले कालाजारको निःशुल्क उपचार गर्ने गरेको छ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले गत वर्षभन्दा यस वर्ष कालाजारका बिरामीको संख्या बढेको बताए।