डेंगु नियन्त्रणमा भएका प्रयास निश्प्रभावी

721

डेंगु नियन्त्रणमा भएका प्रयास निश्प्रभावी

बुटवल, २२ कात्तिक । रुपन्देही जिल्लामा डेंगुले महामारीको रुप लिएपछि स्थानीय तह बुटवल नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले डेंगु नियन्त्रणका प्रयासका काम भईरहेको बताईरहँदा प्रभावित क्षेत्रमा नागरिकले भने त्यस्तो प्रयासका कामको अनुभूति गर्न पाएका छैनन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका अनुसार चालु आर्थिक वर्षको साउन यता मंगलबारसम्म रुपन्देही जिल्लामा ४६१ जना डेंगुको रोगी भेटिएका छन् । असोजको १६ देखि रुपन्देही जिल्लामा डेंगुले महामारीको रुप लिएको हो । त्यसयता जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले डेंगुबाट बँच्ने बारेमा जनचेतना फैलाउने, डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेको बासस्थान खोजी गर्ने र नष्ट गर्ने तथा उपचारमा जोड दिएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले जानकारी दिनुभयो ।

त्यस्तै बुटवल नगरपालिकाले पनि जनचेतना जगाउने तथा खोज र नष्टगर अभियान सञ्चालन गरिरहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख डा. रमेश केसीले बताउनु भयो । उहाले बुटवल उपमहानगरपालिकाको कार्यक्षेत्रमा रहेका १७३ जना महिला स्वास्थ्य स्वयम् सेविका परिचालन गरि २४ हजार ९३४ घरमा गएर ६० हजार ब्रोसर वितरण गरेको जानकारी गराउनु भयो । त्यस्तै नगरपालिकाले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान पनि अंगाडी बढाएको जनाएको छ ।

तर लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण खनालले नगरपालिका र जनस्वास्थ्ज्यले गरेका कुराजस्तै काम नभएको बताउनु हुन्छ । उहाँले भन्नुभयो–‘भनेजस्तै सर्च एण्ड डिष्ट्रोयडका काम भएको भए लार्भा नष्ट हुनेथिए, अहिले एडल्ट लामखुट्टे नहुनु पर्ने थियो, सर्च एण्ड डिष्ट्रोयडका काम प्रभावकारी भएकै छैन ।’

त्यसो त डेंगु प्रभावित क्षेत्रका सर्वसाधारणले नगरपालिकाले काम गरेको हौवा पिटाएपनि जनमुखि काम नगरेको गुनासो गरेका छन् । नगरपालिकाले माथिमाथि देखाउनकालागि मात्रै काम गरेको उनीहरुको आरोप छ ।

जिल्लामा डेंगुले महामारीको रुप लिएपछि स्वास्थ्य मत्रालयका सचिव डा. किरण रेग्मी र चिकित्सा महाशाखाका निर्देशक भोलाराम श्रेष्ठ बुधबार जिल्लाको बस्तुस्थिती बुझ्न आउनु भएको थियो । सो अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदार र बुटवल उपमहानगरपालिकाकी उपमेयर गुमादेवी आचार्यले जनस्वास्थ्य र नगरपालिकाले गरेका कामहरु जानकारी गराउनु भएको थियो । सोही क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट खनालले ती निकायले गरेका काम प्रभावकारी नभएको प्रतिक्रिया दिनुभएको हो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. रेग्मीले यहाँ उठेका विषयमा काठमाण्डौ फर्केर सल्लाह गरेर के गर्नुपर्छ त्यसकालागि मन्त्रालय तयार रहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले जनस्वास्थ्यलाई बिकासको एजेण्डामा नराख्दा स्वास्थ्यमा प्रभावकारी बनाउन नसकिएको बताउनु भयो । उहाँले अहिले सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै प्रकोपजन्य स्वास्थ्य समस्या समाधानकालागि मन्त्रालय लागिरहेहको बताउनु भयो । त्यस्तै चिकित्सा महाशाखाका निर्देशक भोलाराम श्रेष्ठले डेंगु नियन्त्रण गर्ने नाममा जथाभालि विषादीको प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले विषादीको प्रयोगले जनस्वास्थ्यमा अत्यन्तै नकारात्मक प्रभाव पार्ने भएकाले एकदमै प्रभावित क्षेत्रमा मात्रै विषादीको प्रयोग गर्न सुझाव दिनुभयो ।

लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका स्वास्थ्य संस्थाका प्रतिनीधि, चिकित्सक र स्वास्थ्यकर्मीहरु सहभागि थिए । डेंगु रोग सार्ने एडिस एजिप्टाई जातको लामखुट्टेलाई १६ देखि ३० डिग्रि तापक्रम उपर्युक्त हुन्छ । अहिले रुपन्देहीमा उक्त लामखुट्टेकालागि अतिउपर्युक्त तापक्रम भएकाले पनि प्रकोप बढेको हो । डेंगु एक प्रकारको भाईरस हो र यो भाईरसलाई औषधी गरेर मार्न नसकिने भएकाले यसलाई रोक्नकालागि लामखुट्टेको टोकाईबाट बँच्नु उत्तम उपाए भएको स्वास्थ्यकर्मी तथा चिकित्सकहरु बताउँछन् ।