शँकरनगर वनद्वारा स्वास्थ्य चौकीलाई औषधी प्रदान

1.3K

शँकरनगर वनद्वारा स्वास्थ्य चौकीलाई औषधी प्रदान

बुटवल, २३ जेठ । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह १–४ ले शँकरनगर स्वास्थ्य चौकीलाई निःशुल्क औषधी उपलब्ध गराएको छ । स्वास्थ्य चौकीलाई वन उपभोक्ता समूहले ६० हजार मूल्य वरावरको औषधी उपलब्ध गराएको हो । स्वास्थ्य चौकीमा औषधीको अभाव हुन नदिनका लागि शँकरनगर सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रुपमा औषधी उपलब्ध गराउंदै आएको छ । वार्षिक कार्यक्रम अन्तर्गत बुधबार एक कार्यक्रमबीच स्वास्थ्य चौकीलाई औषधी उपलब्ध गराईएको हो ।

सामुदायिक वनको कार्यालयमा आयोजित कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दधिराम गौतम र शँकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीले स्वास्थ्य चौकी प्रमुख सिर्जना पछाईलाई विभिन्न प्रकारका औषधी प्रदान गर्नु भएको हो । सोही कार्यक्रममा बोल्दै वडाध्यक्ष गौतमले स्वास्थ्य सेवालाई सर्भशुलभ र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । शँकरनगरको स्वास्थ्य चौकीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराउन पहल गर्ने बताउदै उहांले समयको माग अनुसार स्वास्थ्य चौकीलाई स्तरवृद्वि गर्नुपर्ने र त्यसका लागि पहल गर्ने प्रतिवद्वता जनाउनु भयो ।

सामूदायिक वनका सल्लाहाकार खिमानन्द भट्टराईले समयको माग र स्थानीय जनताको चाहना अनुसार स्वास्थ्य सेवा दिनुपर्ने बताउनुभयो । उहांले सहयोगको आकार सानो भएपनि सरकारले गर्ने काम वनले गरेर स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो ।

कार्यक्रममा शँकरनगर स्वास्थ्य चौकीका प्रमुख सिर्जना पछाइले थप स्वास्थ्य सेवा उपलब्ध गराउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहांले स्वास्थ्य चौकीले गुणस्तरीय सेवा दिएपनि प्रचारप्रसार हुन नसकेको उल्लेख गर्नुभयो । वन उपभोक्ता समूहका उपाध्यक्ष रविन्द्र वस्नेतले शँकरनगरका सबै स्थानीयलाई सहयोग पुराउने गरी निःशुल्क रुपमा औषधी सहयोग गरिएको बताउनुभयो । सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम गिरीको अध्यक्षता र सचिव इन्दु थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।