मेलानको स्थापना दिवसमा खुल्ला रक्तदान

1.3K

मेलानको स्थापना दिवसमा खुल्ला रक्तदान

बुटवल, २६ जेठ । मेडिकल ल्यावोरेटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीको १३ औं स्थापना दिवसको अवसर पारेर शनिबार बुटवलमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मेलानका पदाधिकारी, सदस्य तथा सुभेच्छुक गरि ३९ जनाले रक्तदान गरेको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण खनालले रगत लिएर नयाँ जिवन जिएका व्यक्ति रक्तदानको महत्व अझै बढी थाहा हुने बताउनु भयो । उहाँले रक्तदान जीवन दान भएको चर्चा गर्दै रक्तदानका बारेमा अझै पनि आम मानिसलाई जानकारी नभएको रक्तदानको अर्थ र औचित्य प्रष्ट्याएर सबैलाई अग्रसर गराउन सके रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै नेपाल स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले संघसंस्थाले नियमित रुपमा रक्तदान गर्ने कार्यक्रम बनाएकै कारण अहिले रुपन्देही जिल्लामा रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु पर्ने स्थिती नरहेको बताउनु भयो । उहाँले सरकारको ४० शैया भन्दा माथिका अस्पताल आफैले रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्न पाउने नीति लिएकाले लुम्बिनी अञ्चल अस्पताललाई अस्पताल परिसर भित्र आफ्नै स्वामित्वमा रक्त सञ्चार सेवा केन्द्र स्थापना गर्न सुझाव दिनुभयो ।

मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपाध्यक्ष डिपी खनाल, मेलानका केन्द्रीय उपाध्यक्ष रमेश पाण्डे, रक्तदान कार्यक्रम संयोजक प्रविण शाह, सचिव अमर थापा लगायतले भनाई राखेका थिए ।