
बुटवल, २१ असार । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका डा. गोबिन्द केसीको मागमा ऐक्यवद्धता सहित बुटवलमा हस्ताक्षर संकलन गरिएको छ । डा. केसीले उठाएका माग सम्बोधनकालागि सरकारलाई दवाव सिर्जना गर्न हस्ताक्षर संकलन गरिएको हो । स्वतन्त्र रुपमा आएका युवा अभियान्ताहरुले बुटवलको अस्पताललाईनमा हस्ताक्षर संकलन गरेका हुन् ।
त्यस्तै नयाँ शक्ति पार्टी नेपालले पनि डा. केसीको माग सम्बोधन गर्न माग गर्दै बिहिबार नै देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोही अनुसार रुपन्देही जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।
पार्टीका जिल्ला ईन्चार्ज देवेन्द्रनाथ पाण्डेको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा डा. केसीले उठाएका मागहरु तुरुन्त पुरा गर्न, डा. केसीसंग भएका पूर्व सहमतिहरु तुरुन्त कार्यान्वयन गर्न, लोकतन्त्रको मुल्य मान्यता बिपरित हुनेगरी काठमाण्डौ लगायतका देशका बिभिन्न स्थानमा जारी गरिएका निषेधाज्ञा तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै पार्टीका प्रदेश संयोजक यज्ञ पोखरेलले पूर्ववर्ती सरकारसंग माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेगरी संसदमा बिधेयक प्रस्तुत गर्ने सहमति भएकोमा वर्तमान सरकारले उक्त विधेयकलाई प्रतिस्थापन गर्नेगरी मेडिकल माफियालाई प्रोत्साहन गर्न लागेको आरोप लगाउनु भयो ।