डा. गोबिन्द केसीको जीवन रक्षा गर्न माग

1.3K

डा. गोबिन्द केसीको जीवन रक्षा गर्न माग

बुटवल, ५ साउन । नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा शनिबार रुपन्देहीको मणिग्राममा सरकार बिरुद्ध प्रदर्शन गरिएको छ । प्रा. डा. गोबिन्द केसीको मागमा सरकारलाई गम्भिर हुन आग्रह तथा उनको जीवन रक्षाकालागि सरकारलाई दवाव सिर्जना प्रदर्शन गरिएको नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिमबहादुर केसीत्रीले बताउनु भयो ।

प्रदर्शन पछि आयोजना आयोजना गरिएको कोण सभामा बोल्दै नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले शान्तिपुर्ण आन्दोलनमा रहेका डा. केसीलाई सरकारले अमानवीय व्यबहार गरेको आरोप लगाउनु भयो । उहाँले डा. केसीले उठान गरेका मुद्धा आम नेपाली जनताको पक्षमा रहेकाले सरकारले अविलम्ब सुनुवाई गर्न पनि माग गर्नुभयो ।

त्यस्तै मावन अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले सरकारले एक सत्याग्रही प्रति गरेको व्यबहार क्रुर, अमानवीय, विवेकहीन र सर्वसत्तावादी चिन्तनले ओतप्रोत भएको देखिएको बताउँदै डा. गोबिन्द केसीको जीवन प्रति सरकार गम्भिर नरहेको आरोप लगाउनु भयो ।

उहाँले सरकार बिस्तारै स्वतन्त्रता बिरोधी, सूचना प्रविधी बिरोधी, अलोकतान्त्रिक, समावेशीको विपक्षी, कानुनी शासनको उपहास गर्नुका साथै सन्की र उन्मादी बनेको उल्लेख गर्दै सरकारलाई लोकतान्त्रिक मुल्य र मान्यतामा रहन आग्रह गर्नुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. केसी अनसनरत रहँदा शान्तिपूर्वक आन्दोलनमा रहेका बिद्यार्थीमाथि गरिएको प्रहरीको बर्बर दमन र अत्याचारको छानविन गरि दोसीलाई कारवाही गर्न पनि उहाँले माग गर्नुभयो ।

नेपाल चिकित्सक संघ लुम्बिनीका सचिव डा. ईन्द्र ढकालले सरकार मेडिकल माफियाको चंगुलमा फसेको आरोप लगाउँदै डा. केसीका माग जनताका माग पनि भएकाले तत्काल सम्बोधन गर्न र उहाँको जीवन रक्षा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा महिला नेतृ गंगा शाही, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, तरुण दलका क्षेत्रीय अध्यक्ष किशोर क्षेत्री, बृजेश न्यौपाने लगायतले भनाई राख्दै डा. केसीले उठाएका माग आम नेपाली जनताको माग भएकाले आफूहरु डा. केसीको पक्षमा रहेको बताएका थिए ।