बुटवल लायन्स आँखा अस्पताल २२ औं वर्षमा

1.3K

बुटवल लायन्स आँखा अस्पताल २२ औं वर्षमा

बुटवल, ५ मंसिर । बुटवल लायन्स आँखा अस्पतालको २२ औं स्थापना दिवस एक कार्यक्रमका बिच मनाईएको छ । अस्पताल बिकास समितिले बुधबार अस्पतालमै कार्यक्रम गरि दिवस मनाएको हो । कार्यक्रममा बोल्दै प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मुलुकको तीन तहमा रहेका सरकारले एकले अर्कालाई पन्छ्याउने भन्दापनि नागरिकको स्वास्थ्य सेवाको सुनिश्चितता र पहुँचको सुरक्षाकालागि सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो ।

मुलुकको बिकासकालागि सरकारको सहि प्लानिङ् र आम नागरिकको सहभागिता अपरिहार्य रहेको बताउँदै मन्त्री बरालले सिमित स्रोत र साधनकाबिच सरकार गुज्रिरहेकाले सरकारलाई सहयोग र सहकार्यकालागि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अस्पतालको बिकास र स्तरोन्नतीकालागि आफ्नो साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले अस्पतालको अहिलेको पूर्वाधारमा मन्त्रालयका कुनै विभाग राख्ने र अस्पताललाई अन्यत्रै स्थानान्तरत गर्न उपर्युक्त हुने धारणा राख्नुभयो ।

बुटवल लायन्स आँखा अस्पताल बिकास समितिका अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्र ज्योती संघ रुपन्देहीका अध्यक्ष सागरप्रताप राणा, लायन्स क्लवका डिष्ट्रिक गभर्नर सुनिल ओझा, पिडिजी महेन्द्रनारायण श्रेष्ठ, लायन्स क्लव अफ बुटवलका अध्यक्ष सुनिल कसजु, क्लवका संस्थापक सचिव जीवन वझा, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपेन्द्रदेव भारी, अस्पतालका निमित्त व्यबस्थापक मनोजकुमार श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

यस क्षेत्रमा आँखा अस्पतालको आवश्यकता महसुस गरेर लायन्स क्लव अफ बुटवलले सन् १९९६ को नोभेम्बर २१ मा बुटवल लायन्स आँखा अस्पताल स्थापना गरिएको थियो । स्थापनाको २२ औं वर्षमा आईपुग्दा सम्म अस्पतालले २४ जिल्लाका जनतालाई सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ ।