स्थापना दिवसमा सिएमए संघको रक्तदान

635

स्थापना दिवसमा सिएमए संघको रक्तदान

भैरहवा, भदौ । नेपाल सिएमए संघले संस्थाको स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १६ औं स्थापना दिवस मनाउने क्रममा रुपन्देहीको भैरहवामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष तथा पाँच नं. प्रदेश ईञ्चार्ज गोपाल उपाध्यायले देशका बिकट गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी (सिएमए)लाई सरकारले उपेक्षा गरेको आरोप लगाउनु भयो ।
उहाँले सरकारले गर्नुपर्ने काम ग्रामिण जनताको स्वास्थ्यमा अहोरात्र खटिने सिएमए गरेका स्वास्थ्यकर्मीलाई उचित स्थान नदिएको, सिएमएका माग वेवास्ता गरेको र स्वास्थ्य सम्बन्धि व्यबसाय गर्न समेत वञ्चित गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
बिरामीलाई सेवा गरिरहेका सिएमले मानविय सेवा समेत गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उहाँले प्रष्ट पार्नुभयो ।
त्यस्तै नेपाल सिएमए संघका केन्द्रीय सदस्य जनकराज पन्तले चिकित्सकको अनुपस्थितीमा सिएमए हरुले गरेको स्वास्थ्य सेवाको कदर राज्यले गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले सरकारले सिएमए उत्पादन गर्नका लागि टेक्निकल कलेजहरु स्थापना गर्न अनुमति दिने तर त्यहाँबाट उत्पादन भएका जनशक्तिलाई रोजगारी पनि दिन नसकेको र व्यबसाय गर्न समेत बन्देज गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो ।
नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायले सिएमएले देश र जनताको लागि सेवा गरे अनुसार सिएमएलाई सरकारले वास्ता नगरेको आरोप लगाउनु भयो ।
नेपालमा रहेका सिएमएहरुको हक अधिकारको सुनिश्चितता र गाउँगाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०६० भदौ २५ गते सुदुर पश्चिमको कैलालीमा गणेश साउदको अध्यक्षतामा नेपाल सिएमए संघ गठन गरिएको थियो । हाल उक्त संस्थाको ६५ जिल्लामा शाखा र ५० हजार सदस्य आवद्ध रहेको उहाँले जानकारी गराउनु भयो ।
नेपाल रेडक्रस सोशाईटि रुपन्देहीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको सचिव रणजितकुमार हलुवाईले जानकारी दिनुभयो । कार्यक्रम संघका जिल्ला सहसचिव गोपाल बञ्जाडेको सञ्चालनमा भएको थियो ।