बुटवल, १३ असोज । नेपाल ई–रिक्सा तथा सम्वद्ध श्रमिक संघले संघमा आवद्ध चालक मृगौला पिडित राजु कठरिया थारुलाई आर्थिक सहयोग प्रदान गरेको छ । संघले सोमबार एक कार्यक्रमको आयोजना गरि संघका सदस्य सैनामैना नगरपालिका वडा नं. ५ बासगढी निवासी थारुलाई २५ हजार ७ सय रुपैंया आर्थिक सहयोग गरेको हो ।
उक्त सहयोग रकम नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले मृगौला रोग पिडित थारुलाई हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा बोल्दै नेता खाँणले स्वास्थ्य सेवालाई संविधानमै नागरिकको मौलिक हकको रुपमा स्थापित गरेपनि सरकारले संविधानको कार्यान्वयनमा आनाकानी गरेका कारण प्राप्त अधिकार स्थापित हुन नसकेको बताउनु भयो । उहाँले संविधानमा व्यबस्था भएको स्वास्थ्य शिक्षाको मौलिक अधिकार कार्यान्वयन हुने हो भने स्वास्थ्योपचारकालागि नागरिकले दुःख पाउनु नपर्ने भन्दै संविधान कार्यान्वयनकालागि सरकारलाई दवाव सिर्जना गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यसै अवसरमा टेरा मोटर्सको बिक्रेता ग्रिन लुम्बिनी इन्टरप्राईजेज योगिकुटीका सञ्चालक ज्ञानु बस्यालले पनि ई–रिक्सा चालक थारुको उपचारकालागि ५ हजार रुपैंया सहयोग प्रदान गर्नुभयो । संघका बुटवल नगर समितिका अध्यक्ष उदयराज परियारले एउटा सहकर्मीलाई परेको अफ्ठ्यारोमा सबैले सय÷पचास रुपैंया संकलन गरि उपचारकालागि सहयोग प्रदान गरिएको बताउनु भयो ।
त्यस अवसरमा नेपाल ई–रिक्सा तथा सम्वद्ध श्रमिक संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पाठक, ई–रिक्सा व्यबसायी ज्ञानु बस्याल, संघका जिल्ला अध्यक्ष लालमणी भण्डारी, सहसचिव मेघराज पौडेल लगायतले मृगौला पिडित थारुको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
ई–रिक्सा चलाएर आफ्नो जिबिको पार्जन गर्दै आएका राजु कठरिया थारु ७÷८ महिनादेखि बिरामी परेको भएपनि ३ महिना अंगाडी मात्रै दुबै मृगौला बिग्रिएको थाहा भएको थियो । त्यस यता बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भईरहेको मृगौला रोग ग्रसित थारुले बताउनु भयो ।
