प्रदेश पाँचमा लामखुट्टे तथा भुसुना नष्ट गर्ने ३० थान फग मेसिन उपलब्ध

987

प्रदेश पाँचमा लामखुट्टे तथा भुसुना नष्ट गर्ने ३० थान फग मेसिन उपलब्ध

बुटवल, २० कात्तिक । कोरियन संस्था क्रुप फाउण्डेसनले प्रदेश पाँच सरकारलाई लामखुट्टे, भुसुना लगायतका किटाणु नष्ट गर्ने फग मेसिन उपलब्ध गराएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजित कार्यक्रममा डेंगु नियन्त्रण गर्नको लागि ३० थान फग मेसिन मन्त्रालयलाई प्रदान गरिएको हो ।
क्रुप फाउण्डेसनका प्रमुख लि सान हुँले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई फग मेसिन हस्तान्तरण गर्नुभएको हो । प्रति मेसीन एक लाख ५० हजारका दरले ३० वटा मेसिनको कुल मूल्य ४५ लाख पर्छ । फग मेसिनमा अफा कपर मेथिन नामक औषधि राखेर छिट्ने गरिन्छ ।
क्रुप फाउण्डेसनले मेसिनका साथै एक वर्षका लागि सय लिटर अफा कपर मेथिन पनि उपलब्ध गराएको छ । थोरै मात्रामा कपर मेथिन डिजल अथवा पेट्रोलमा राखेर प्रयोग गर्नुपर्ने छ । एक लिटर डिजलमा ३ एम एलका दरले अफा कपर मेथिन राखेर मेसिनमा राखी प्रयोग गर्नुपर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
फाउण्डेसनका प्रमुख लि सान हुँले यो मेथिन डब्लु एच ओ बाट प्रमाणीत भएको र बायो सिष्टमलाई असर नगर्ने हुँदा लाम्खुट्टे नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो । गत वर्ष विराटनगरमा वितरण भइ प्रभावकारी नतिजा आएको र यो वर्ष काठमाण्डौमा पनि केही ठाउँमा उक्त औषधि छर्ने काम भएको फाउण्डेसनको जनाएको छ ।
प्राप्त मेसिन सुरुमा पाँच नम्बर प्रदेशका बुटवल, नेपालगञ्ज, दाङ र घोराही ४ वटा उपमहानगरपालिका र सुरक्षा क्याम्पहरुलाई दिने आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो । मेसिन र औषधि आएपछि अब डेंगु नियन्त्रण हुने र आगामी वर्ष अहिले जस्तो अवस्था नआउने उहाँले विश्वास व्यक्त गर्नुभयो । डेंगुका कारण यस वर्ष बुटवल र आसपासमा २ हजार भन्दा बढी मानिस संक्रमित भएका थिए ।