आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने

1.3K

आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने

तिलोत्तमा, २८ कात्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पताल बन्ने भएको छ । स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिकालागि वडा नं. ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् ।
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न पुर्व अर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाउनु भएको छ । पौडेलले बिहीबार स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने बताउनु भयो । सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताउनुभयो । स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताउनुभयो । हाल दैनिक ५० जना भन्दा बढी बिरामीले सेवा लिने गरेको र महिनामा सरदर २० जनाले प्रसुति सेवा समेत लिने गरेको उहाँले जानकारी गराउनु भयो ।
स्वास्थ्य चौकीको केही दिन अघि स्वास्थ्य विभागका महानिर्देशक डा. रोशन पोखरेलले समेत स्थलगत निरीक्षण गर्नु भएको थियो । अस्पताल बनाउन १५ करोड रुपैयाँ बजेट लाग्ने पूर्वानुमान गरिएको छ ।