पाल्पाको बगनासकाली पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

716

पाल्पाको बगनासकाली पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको पाल्पाको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुले ज्यान गुमाउनुपर्ने बाध्यता टरेको छ । घरमा सुत्केरी हुने सङ्ख्या शून्य रहेको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आव २०७५÷७६ मा ३७१ महिला विभिन्न स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पूर्ण संस्थागत सुत्केरी घोषणा बनाउन सहज भएको हो । सो अवधिमा युनाइटेड मिसन अस्पतालमा १८०, लुम्बिनी मेडिकल कलेज प्रभासमा ११४ र जिल्ला अस्पतालमा तीन प्रसूति हुन आएका थिए । यसैगरी सो अवधिमा तानसेन नगरपालिकाको मदनपोखरा स्वास्थ्यचौकीमा नौ, गाउँपालिकाभित्रको चापपानी स्वास्थ्यचौकीमा २१, खानीछाप स्वास्थ्यचौकीमा ११, नायरनमतलेस स्वास्थ्यचौकीमा सात, अन्य जिल्ला तथा विदेशमा २६ जना गरी ३७१ संस्थागत सुत्केरी भएको उल्लेख छ । एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चारपटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ । त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ । जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासनीले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताउनुभयो । उहाँले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि गाउँपालिका निरन्तर वडादेखि कार्यक्रम सञ्चालन गर्दै आएकाले अहिले सफल बनेको बताउनुभयो । गाउँपालिका क्षेत्रभित्र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएका छन् । चापपानी स्वास्थ्यचौकी, नायरनमतलेस स्वास्थ्यचौकी र खानीछाप स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी केन्द्र सञ्चालनमा आएपछि सुत्केरी महिलालाई राहत मिलेको छ ।