जिपि कोईराला स्मृती महिला भलिवल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ्लाई

780

जिपि कोईराला स्मृती महिला भलिवल प्रतियोगिताको उपाधि एभरेष्ट बोर्डिङ्लाई

जीपि कोईराला स्मृति प्रतिष्ठान बुटवल रुपन्देहीले आयोजना गरेको महिला भलिवल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ् स्कलले हात पारेको छ । शुक्रबारदेखि बुटवलमा भएको प्रतियोगिताको फाईनल प्रतिस्पर्धामा न्यू होराईजन बोर्डिङ् स्कललाई पछाडी पार्दै एभरेष्टले उपाधि हात पारेको हो । प्रतियोगितामा प्रथम भएको एभरेष्टलाई १० हजार रुपैंयाँ नगद पुरस्कार सहित रनिङ् शिल्ड, शिल्ड सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै द्वितीयमा समेटिएको न्यू होराईनलाई ७ हजार ५ सय रुपैंया नगद पुरस्कार सहित शिल्ड, ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ । बुटवल उपमहानगरपालिका भित्रका ११ बिद्यालय सहभागि भएको प्रतियोगितामा मणिमुकुन्द माबि तृतीय तथा दीप बोर्डिङ् सान्त्वना भएका छन् । उनीहरुलाई क्रमशः ५ हजार र ३ हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताकी संयोजक बालकुमारी भण्डारीले जानकारी गराउनु भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रदेश पाँचकी प्रदेश सभा सदस्य रमा अर्यालले नेपाली काँग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको स्मृतिमा स्थापित प्रतिष्ठानले छात्रा भलिवल प्रतियोगिता सञ्चालन गरेर स्वर्गीय कोईरालाको सम्झना गर्ने र छात्राहरुलाई अंगाडी बढाउने राम्रो काम गर्दै आएको बताउनु भयो । उहाँले प्रतिष्ठानका माध्यमबाट बिकासका अभियानमा समेत पैरवी गर्नुपर्ने भनाई राख्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, प्रतिष्ठानका निवर्तमा अध्यक्ष नन्दराम भण्डारी, ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक टिकाराम पौडेल, प्रतिष्ठानका सचिव परमानन्द भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवलको ज्ञानोदय माध्यमिक बिद्यालयमा भएको प्रतियोगिताको उद्घाटन स्वर्गीय गिरिजाप्रसाद कोईराला पुत्री नेतृ सुजाता कोईरालाले गर्नुभएको थियो । यस अंगाडी छात्रा भलिवल प्रतियोगिता सञ्चालन गर्दै आएको र यस पटक (नबौं संकरण) देखि रनिङ् शिल्ड प्रतियोगिता सुरु गरिएको प्रतिष्ठानले जनाएको छ । लगातर तीन पटकसम्म एउटै संस्थाले जित हात पारेमा रनिङ् शिल्ड उसकै हुने छ ।