चिसो मौषममा धेरै बालबालिका (बच्चा)मा बिभिन्न प्रकारको स्वास्थ्य समस्या देखिन्छ । चिसो मौषममा बालबालिकामा देखिने समस्या र ती समस्या हुन नदिनकालागि के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा बालरोग विशेषज्ञ डा. बिनोद पराजुलीसंग गरिएको संक्षिप्त कुराकानी ।

चिसो मौषममा बालबालिकामा के कस्ता समस्या देखिन्छन् ?
चिसो मौषममा बच्चाहरुमा बिशेषगरी स्वास्वासप्रस्वास, रुघाखोकी, निमोनीया, दम, भाईसरबाट हुने झाडापखाला लगायतका समस्या हुने गर्दछ । सबै मौषममा हुने समस्या बाहेक यी समस्या चिसो मौषममा बढी देखिन्छ । चिसो मौषममा बालबालिका (बच्चा)लाई चिसोबाट बचाउनकालागि आगोमा सेक्ने गरिन्छ । त्यस्तो समयमा आगोबाट निस्किने धुवाले बच्चालाई स्वास्वासप्रस्वासमा समस्या हुने, चिसोका कारण रुघाखोकी लाग्ने, निमोनिया हुने, झाडापखाला हुने हुन्छ ।
चिसोबाट हुने समस्या हुन नदिनकालागि के कस्ता उपायहरु अपनाउन सकिन्छ ?
चिसोबाट हुने समस्या भएकाले चिसोबाटै बँच्नु पर्छ । चिसो मौषममा बच्चालाई घरबाहिर निकाल्नु हुँदैन । निकाल्नै पर्नेभयो भने पनि न्यानो कपडा लगाएर निकाल्नु पर्छ । तातो तातो खानेकुरा खुवाउनु पर्छ । न्यानो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । सामान्यतया घरेलु उपचार गरेपनि नर्मलभन्दा बढी भयो भने डाक्टरसंग परामर्श गर्नुपर्छ । झाडापखाला खानपिनका माध्यमबाट हुने भएकाले खानपिनमा बिशेष ध्यानदिनुपर्छ । ताजा सफा खानेकुरा, उमालेको पानी खुवाउने, भाडा बर्तनहरु सफा राख्ने र खाना खुवाउने व्यक्तिले समेत हात सफा गरेर खुवाउनु पर्छ । त्यस्तै परिवारमा कसैलाई रुघा लागेको छ भने उसको संसर्गबाट बच्चालाई बचाउनु पर्छ ।
बच्चालाई न्यानो बनाउनकालागि गाउँघरमा दाउरा बालेर सेक्ने चलन हुन्छ । यसो गर्दा केही फरक पर्दैन ?
हो, बिशेष गरेर गाउँघरमा बच्चालाई न्यानो पार्नकालागि दाउरा बालेर सेक्ने चलन हुन्छ । यसो गर्नु राम्रो होईन । दाउरा बाल्दा निस्कने धुवा एक प्रकारको पोलुसन (प्रदुषण) हो । यसो गर्दा बच्चाको स्वासप्रस्वास तथा दमको समस्या आउन सक्छ । अझै कोठाभित्र त्यसो गरेमा स्वास्सप्रस्वासमा समस्या आउने र बच्चा निसास्सिने समेत हुन सक्छ । दाउरा बालेर बच्चालाई सेक्नुभन्दा न्यानो कपडा लगाउने गर्नुपर्छ । हिटर चलाएर पनि बच्चालाई तताउन सकिन्छ । तर हिटर चलाउँदा कोठाको भेन्टीलेसन खुला राख्नुपर्छ ।