आफ्नै बहिनीको हत्या अभियोगमा फरार रहेका रुपन्देहीको मर्चवारी गाउँपालिका ठर्कीका दाजु ३७ वर्षीय रामभवन वेलदारलाई प्रहरीले १२ वर्ष पछि पक्राउ गरेको छ । रुपन्देहीको साबिक बगौली गाउँबिकास समिति वडा नं. १ का (त्यतिबेला) २५ वर्षीय रामभवनले बोल्न नसक्ने १० वर्षकी बहिनी रेखा वेलदारलाई बाबु ५५ वर्षीय रामपत समेत मिली कोदालोले टाउकोमा हानेर हत्या गरेको आरापमा प्रहरीले उनीहरुलाई खोजी गर्दै आएको थियो ।
अभियुक्त खोजी गर्ने क्रममा प्रहरीले मृतकका दाजु रामभवनलाई मर्चवारी गाउँपालिका वडा नं. ६ नेपाल भारत सिमा स्थित दुईमुहानघाटबाट गत बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मर्चवारको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरि शुक्रबार नै जिल्ला अदालत रुपन्देहीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अंगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्ेदहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
८ माघ २०६४ मा दिनको ११ बजेको समयमा बाबु रामपत र छोरा रामभवन मिलेर आफ्नै बोल्न नसक्ने छोरी रेखाको हत्यागरेको भनी स्थानीय तेजप्रसाद सिंहले किटानी जाहेरी गरेका थिए । स्थानीय सिंहले दिएको किटानी जाहेरीका आधारमा नेपाल भारत सिमा नजिकै डण्डा नदी किनारमा खाल्डो खनी पुरेको अवस्थामा प्रहरीले १३ माघ २०६४ मा शव फेला पारेको थियो । लगत्तै हत्या गरिएकी रेखाका बाबु रामपत र दाजु रामभवन फरार रहेका थिए ।
